ट्रम्पले भने– भारत र पाकिस्तान जस्तै इरान–इजरायलबीच पनि सम्झौता गर्न सक्छु

उनले युद्ध रोक्न आफूले धेरै प्रयास गरे पनि यसको श्रेय नमिल्ने भन्दै गुनासो पोखेका छन्। उनले भनेका छन्, 'म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ मानिसहरूले त्यो बुझ्छन्।'

काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीको युद्धलाई रोकेझैं इजरायल र इरानबीचको युद्ध पनि रोक्न सक्ने बताएका छन्। आइतबार उनले आफ्नो ट्रुथ सोसल ह्यान्डलमा लेख्दै यस्तो बताएका हुन्।

"जसरी मैले भारत र पाकिस्तानबीच सम्झौता गराएँ, त्यसरी नै म यी दुई बीच पनि सम्झौता गराउन सक्छु," उनले लेखेका छन्, "मैले भारत र पाकिस्तानको मुद्दामा दुई महान नेताहरू बीचको संवादमा तर्क, सहमति र विवेक ल्याउन अमेरिकी व्यापारको शक्ति प्रयोग गरें। उनीहरूले छिटो निर्णय गरे र उनीहरूले युद्ध रोके।"

ट्रम्पले यसअघि पनि धेरै पटक भारत र पाकिस्तानबीच युद्धविराम गराएको बताएका छन्। भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वपछि पाकिस्तानले युद्धविरामको लागि अमेरिकालाई धन्यवाद दिए पनि भारतले अहिलेसम्म यसमा अमेरिकाको प्रत्यक्ष भूमिकाको बारेमा केही भनेको छैन।

यस्तै, उनले सर्बिया र कोसोभोका साथै इजिप्ट र इथियोपिया बीच तनाव बढ्नबाट आफूले रोकेको बताएका छन्। उनी लेख्छन्, "मेरो पहिलो कार्यकालमा, सर्बिया र कोसोभो बीचको दशकौं लामो तनाव युद्धमा परिणत हुन लागेको थियो। तर मैले त्यसलाई रोकें।"

ट्रम्पले इजरायल र इरानबीच चाँडै शान्ति हुने बताएका छन्। धेरै बैठकहरू भइरहेका र फोनमा कुराकानी भइरहेका उनले बताएका छन्। उनले युद्ध रोक्न आफूले धेरै प्रयास गरे पनि यसको श्रेय नमिल्ने भन्दै गुनासो पोखेका छन्। उनले भनेका छन्, "म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ मानिसहरूले त्यो बुझ्छन्।"

शुक्रबारदेखि इजरायल–इरानबीच हवाई आक्रमण जारी छ। शुक्रबार राति इजरायलले इरानको आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो, जसपछि इरानले बदलास्वरूप इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो।

इरानले आइतबार इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। इजरायलको राष्ट्रिय आपतकालीन सेवाहरूले इरानी आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ।

इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पूर्वाधारलाई पनि निशाना बनाएको दाबी गरेको छ। इरानी मिडियाले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार दिउँसोसम्म इजरायली आक्रमणमा १२८ इरानी मारिएको र लगभग ९०० घाइते भएको बताएको छ।

इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामीसहित २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यी दुई देशबीच युद्ध चलिरहँदा त्यहाँ रहेका नेपालीहरूको पनि सुरक्षा चुनाैती बढेको छ। परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा पाँच हजार ५०० र इरानमा १२ जना नेपाली कार्यरत छन्।