जेब्राक्रसमै आएर रोकिन्छन् गाडी, पैदलयात्रीलाई बाटो काट्नै सकस (तस्वीरहरू)

कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्राक्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत दृश्य देख्न पाइन्छ।

काठमाडाैँ– जेब्राक्रस पैदलयात्रुलाई बाटो काट्नका लागि बनाइएको हुन्छ। ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले यात्रुलाई प्राथमिकता दिँदै जेब्राक्रसको लाइन शुरू हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। तर काठमाडाैँ सडकमा हेर्दा भने दृश्य बेग्लै देखिन्छ।

सडक पार गर्ने पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ भन्ने कुरा बुझेर पनि सवारी चालकले अटेर गरिरहेको देखिन्छ। जेब्राक्रसमै गाडी, मोटरसाइकल रोकेको देख्दा पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका हुन्छन्। अझ कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्राक्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत दृश्य देख्न पाइन्छ।

काठमाडाैँमा जेब्राक्रसबाट बाटो काट्न डराउनुपर्ने अवस्था रहेको पैदलयात्री अनुभव सुनाउँछन्। "जेब्राक्रसमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन्," माइतीघरको जेब्राक्रसबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने। जेब्राक्रसको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारीसाधन अगाडि रहेको उनको अनुभव छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ। यो दफाले भन्छ– जेब्राक्रसमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेकोमा गाडी रोक्नुपर्छ।

तर सडकमा हेर्‍यो भने जेब्राक्रस कहिल्यै खाली हुँदैनन्। गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको बिरलै भेटिन्छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी