भिएनामा अड्किए ६ वटा पुरातात्त्विक सम्पदा

अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।

काठमाडौँ– अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।

गत वर्ष फागुन २३ (मार्च ७, २०२५) देखि जेक ग्यालरीमा शुरू भएको एशियाली कलाकृतिको लिलाम बिक्री उत्सवमा समेत राखिएका यी सम्पदाको पहिचान भएपछि भियनास्थित नेपाली दूतावासले उक्त लिलामी रोक्न र नेपाली सम्पदा घरफिर्तीमा सहयोग गर्न अस्ट्रियाको विदेश मन्त्रालयमार्फत पहल गर्दै आएको छ।

जानकारीअनुसार, पहिलो चरणमा ग्यालरीमा फेला परेका पुरातात्त्विक चामुण्डा मूर्ति तथा काठका कलात्मक मुठ्ठल (इभ्स–बोर्ड)को घरफिर्ती प्रक्रिया अड्किएर बसेको भियनास्थित नेपाली दूतावासले बताएको छ। यो कलात्मक मुठ्ठल बौद्ध जातक कथा आधारित दुर्लभ सिर्जना हो।

पुरातत्व विभागले गरेको अध्यनमा, झण्डै ४० वर्षअघि काष्ठमण्डपका तीन बुर्जाबाट चोरिएका काठका मुठ्ठलमध्ये एउटा मुठ्ठल तथा भक्तपुरको ठिमीस्थित बालकुमारी मन्दिरबाट ४१ वर्षअघि चोरिएको तामामा सुनको जलपयुक्त चामुण्डा मूर्ति भियनाको जेक ग्यालरीमा भेटिएको हो।

हराएका र चोरिएका नेपाली सम्पदाको खोजी, प्रमाणीकरण तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’ले भियनामा रहेका सम्पदाबारेमा अवगत गराएको थियो।

जेक ग्यालरीमै दोस्रो चरणमा, गत वर्ष चैत २८–२९(अप्रिल १०–११)मा भएको एशियाली कलाकृतिको अर्को प्रदर्शनीमा नेपालबाट चोरिएका थप ४ वटा सम्पदाजन्य कृति प्रदर्शनीमा आएपछि यसबारे पनि पुरातत्व विभागले अनुसन्धान–प्रमाणीकरण पुरा गरिसकेको छ।

विभागकी अधिकृत सरिता सुवेदीका अनुसार, भियनामा फेला परेका नेपालका ६ वटै पुरातात्त्विक सम्पदाको स्थलगत पहिचान र प्रमाणीकरण पूरा भए पनि सम्बद्ध आर्ट ग्यालरीले नेपाली सम्पदा घरफिर्तीमा जवाफ दिइसकेको छैन। यी सबै सम्पदा अहिले पनि लिलामीमा राखिएका छन्।

जेक ग्यालरीमा प्रस्तरका गणेश, पद्मपाणि लोकेश्वर, श्रीधर गणेश र काठको तोरणसमेत प्रदर्शनी तथा लिलामी समेतमा राखिएको विवरणलाई भियनास्थित नेपाली दूतावासले पनि पुष्टि गरिसकको छ।

विभागको अध्यनअनुसार, कीर्तिपुरको बाघभैरव मन्दिरस्थित दाफा फल्चाबाट चोरी भएको प्रस्तरको गणेश मूर्ति, पाटनको च्यासल टोलस्थित च्यासल हिटीबाट चोरी भएको प्रस्तरको श्रीधर विष्णु मूर्ति र बौद्धस्थित विश्व सम्पदा क्षेत्रको बौद्धनाथ स्तुपा परिसरबाट चोरी भएको पद्मपाणि लोकेश्वरको मूर्ति जेक ग्यालरीमा फेला परेको हो।

अध्ययनअनुसार, यीमध्ये गणेश मूर्ति २४ वर्षअघि र श्रीधर विष्णु ४५ वर्षअघि चोरी भएका हुन्। यस्तै, बौद्धनाथ स्तुपा परिसरबाट ४२ वर्षअघि पद्मपाणि लोकेश्वर मूर्ति चोरिएको थियो। योबाहेक ग्यालरीमा असनको धालासी टोलस्थित गौतमश्री महाबिहार (धालासी बहाः) बाट चोरिएको कलात्मक काठको तोरण पनि जेक ग्यालरीमा प्रदर्शनी र बिक्रीमा राखिएको थियो।

“नेपाली पुरातात्त्विक महत्त्वका सम्पदा भियनाको आर्ट ग्यालरीमा प्रदर्शनी तथा बिक्रीमा आएको सूचना पाउनासाथै दूतावासले यसको यथास्थिती पहिल्याएको थियो”, भियनास्थित नेपाली राजदूत भरतकुमार रेग्मीले उकालोसँग भने– “यी सम्पदा घरफिर्ती गर्ने बारेमा अस्ट्रियाको विदेश मन्त्रालय तह र ग्यालरी निकटमा रहेर संवादको काम जारी छ, निर्क्याैलमा पुग्न सकिएको छैन।”

जेक ग्यालरीमा भेटिएका सबै नेपाली सम्पदा एक वर्षअघि मात्रै जर्मनीको एक ग्यालरीबाट लिलामी बिक्रीमा परेर भियना ल्याइएको हो।

राजदूत रेग्मीका अनुसार, प्रदर्शनीमा राखिएका सम्पदामध्ये काष्ठमण्डपका मुठ्ठलहरू भने तत्काल नेपाल फर्काउन ग्यालरी तत्पर बनेको थियो। नेपाल फर्किएपछि पुरानै स्थानमा पुर्नस्थापना गर्ने प्रतिबद्धतादेखि ग्यालरीलाई धन्यवादपत्र बुझाउनेसम्मको सहमतिमा निर्णायक छलफल भएर पनि मुठ्ठल समेत फर्कन नसकिरहेको उनले जानकारी दिए। चामुण्डाको मूर्तिसहितका सम्पदाका हकमा ग्यालरीले उत्पत्तिको थप पहिचान र प्रमाण माग भैरहेको बताए।

‘स्टोलन इमेजेज अफ नेपाल’मा च्यासलहिटी विष्णु
अहिले भियनाको जेक ग्यालरीमा रहेकोमध्ये केही सम्पदा नेपाली तथा विदेशी अध्येताले गरेका सोधखोजक कृतिहरूमा समेत उल्लेख भएको पाइएको छ। कला–सम्पदा अन्वेषक लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल(१९८९)’, मेरी सेफर्ड स्लसरको ‘आर्ट एन्ड कल्चर अफ नेपाल(सेलेक्टेड पेपर्स)’ सहितका कृतिमा यी सम्पदाका बारेमा उल्लेख गरिएको छ।

स्टोलन इमेजेज अफ नेपाल (पेज २७४/२७५) मा उल्लेख भएअनुसार पाटन, च्यासलहिटीको प्रस्तर विष्णुमूर्ति १२औँ शताब्दीमा निर्मित सम्पदा हो। सन् ८० दशकको शुरूआतमै चोरी भएको विष्णु–लक्ष्मी–गरुडसहितको मूर्तिलाई प्रस्तरकलाको सुन्दरतम नमूना मानिएको छ।

“ग्यालरीमा फेला परेका नेपाली सम्पदा घरफिर्ता नगराउने पनि भनिएको छैन, तर फर्काइहाल्न केही थप प्रमाण र प्रक्रियाको खोजी भएको छ,” राजदूत रेग्मी भन्छन्, “आगामी महिना यहाँ विदेश मन्त्रालयमा यही सम्पदा पहिचान र घरफिर्तीबारेमा परामर्श गर्नेगरी बैठक बस्ने भएको छ। त्यसबेला ग्यालरीका अधिकारीसहित सरोकार सम्बद्धमाझ निर्णायक वार्ता हुने स्थिती देखिएको छ।”

युनेस्कोको सन् १९७० को अभिसन्धिअनुसार सांस्कृतिक सम्पदा ओसारपसार, नियन्त्रण वा बेचबिखन गर्न नपाइने प्रावधानअन्तर्गत पनि नेपालको सम्पदा घरफिर्तीमा प्राथमिकता राख्नुपर्ने अडान नेपालले राख्दै आएको छ।