उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। सोमबार सत्तागठबन्धनको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नयाँ बन्न लागेको सरकारमा उपप्रधानसहित गृहमन्त्रीमा दाबी रहेको बताएका हुन्।

यद्यपि, सबै निर्णय गर्ने अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको बताए। उनले जुन जिम्मेवारी दिए पनि त्यसमा खरो भएर निर्वाह गर्ने बताए। उनले नयाँ शक्तिहरू सरकार गठनको स्थितिमा नपुगेकाले पुरानै पार्टीहरूसँग सहकार्य गरेको बताए।

"नयाँ शक्तिले आफैँले सरकार बनाउन सक्ने सिट प्राप्त भएन। हामीले केपी शर्मा ओली, प्रचण्डविरुद्ध उम्मेदवार उठाएका थियौँ। शेरबहादुर देउवाविरुद्ध उठेका सागर ढकाललाई समर्थन गरेका थियौँ। तर, उम्मेदवारले जित्नु भएन। २० जना मात्रै निर्वाचित भयौँ। सरकार सञ्चालन गर्नै पर्ने हुन्छ", उनले भने।

उनले आफ्नो पार्टीले निर्वाचनमा गरेका वाचाहरू पूरा गर्ने सर्तसहित सरकारमा सहभागी भएको पनि बताए।

नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालको शपथ सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुने भएको छ।