स्कुलमा गरिने ‘बुलिङ’, पारिवारिक सम्बन्ध, एक्लोपना, सामाजिक सञ्जालबाट बन्ने सम्बन्धलगायत कारण बालबालिकाले आत्महत्या गरिरहेका छन्। अभिभावकले कुरा सुनिदिँदा मात्र पनि बालबालिका जोगिन सक्छन्।
काठमाडौँ— टेकु बस्ने १४ वर्षीया रश्मि (नाम परिवर्तन) आफ्नो कोठाबाट धेरै बेरसम्म बाहिर ननिस्केपछि उनकी आमाले ढोकैमा गएर बोलाइन्। तर उनी बोलिनन्। बुवा पनि आइपुगे। धेरैबेर नखोलेपछि उनीहरू ढोका फुटाएरै कोठामा छिरे। छोरी ओछ्यानमा बेहोस अवस्थामा थिइन्। छेउमा ब्लेड पनि थियो।
रश्मिले आफ्नो हातको नसा काटेकी थिइन्। रगत बगिरहेको थियो। आमाले तत्कालै एउटा कपडाले हात बाँधिदिइन्। बाबुले ट्याक्सी मगाए र तुरुन्तै अस्पताल पुर्याए। समयमै अस्पताल पुर्याएको कारण उनको ज्यान जोगियो।
तर रश्मिको व्यवहार फरक हुन थाल्यो। एक्लै बस्ने, कसैसँग नबोल्ने भयो। बुवाआमाले १७ दिनपछि उनलाई बाल मनोचिकित्सकसँग परामर्शका लागि लगे। त्यहाँ पत्ता लाग्यो- उनी सामाजिक सञ्जालमा भेटिएका किशोरसँग आकर्षित रहिछन्।
त्यस विषयमा बुवाआमासँग झगडा भएपछि आत्महत्या प्रयास गरिछन्। परामर्शमा लैजाँदा पनि उनको अवस्था नाजुक नै थियो। उनको उपचारमा संलग्न बाल मनोचिकित्सक डा. अमित झा भन्छन्, “६ महिना निरन्तर औषधि खाएपछि अहिले ठीक छिन्। यस वर्षको एसईई परीक्षा पनि दिइन्। अहिले नियमितरूपमा स्वास्थ्य परीक्षणमा आउँछिन्।”
रश्मिलाई त समयमै उद्धार गरेर बुवाआमाले बचााए, तर बालबालिकाको व्यवहार, मनोभावना नबुझ्दा र समयमै चिकित्सकको सल्लाह नपाउँदा बर्सेनि धेरैले आत्महत्या गरेका छन्। गत जेठ १२ गते इलामको माई नगरपालिका—७ की १२ वर्षीया शिखा सदेम्बा राईले आत्महत्या गरिन्।
त्यस्तै, वैशाख २९ गते इलाम नगरपालिका–११ की १२ वर्षीया सेविका नेपालले आत्महत्या गरिन्। पछिल्लो समय बालबालिकाले आत्महत्या गर्ने क्रम बढेको छ। गत वर्ष मात्रै रौतहटमा ४७, सर्लाहीमा ४५, ललितपुरमा ४२, सिरहामा ४१ र धनुषमा ३६ जना किशोरकिशोरीले आत्महत्या गरे।
नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा तीन हजार ७७६ बालबालिकाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा किशोरीको संख्या धेरै छ। पाँच वर्षमा दुई हजार ४३९ बालिका र एक हजार ३३७ बालकले आत्महत्या गरेका छन्।
आव २०७६/७७ मा ६७२ बालबालिकाले आत्महत्या गरे। त्यसमध्ये ४१० बालिका र २५२ बालक थिए। २०७७/७८ मा आत्महत्या गर्ने ७६४ बालबालिकामध्ये ४७० बालिका र २९४ बालक थिए। २०७८/७९ मा आत्महत्या गर्ने ७०९ जनामा ४५६ बालिका र २५३ बालक थिए।
त्यस्तै, आव २०७९/८० मा ७९५ बालबालिकामध्ये ५२९ बालिका र २६६ बालकले आत्महत्या गरेका थिए। आव २०८०/८१ मा आत्महत्या गर्ने ८४६ बालबालिकामा बालिका ५७४ र बालक २७२ जना थिए।
बालबालिकाले विष सेवन, आगो लगाएर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर हातहतियारको प्रयोग गरेर र पानीमा डुबेर आत्महत्या गर्ने गरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै झुन्डिएर आत्महत्या गर्छन्।
पछिल्लो ५ वर्षमा भुन्डिएर तीन हजार ३३५ बालबालिकाले आत्महत्या गरे। विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ३९० छ। अन्य तरिकाले ५० जनाले आत्महत्या गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२१ मा गरेको एक अध्ययनअनुसार १५ देखि १९ वर्षसम्मका किशोरकिशोरीको मृत्युको चौथो ठूलो कारण आत्महत्या हो। यो उमेर समूहका किशोरीको भने मृत्युको दोस्रो प्रमुख कारण नै आत्महत्या हो। उक्त रिपोर्टअनुसार आत्महत्या विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक भएको र यसले मलेरिया, एचआईभी/एड्स, स्तन क्यान्सर, युद्ध वा हत्याले भन्दा बढी ज्यान लिएको देखिएको छ।
निम्न तथा मध्यम आय भएका देशमा सबैभन्दा धेरै आत्महत्या हुने गरेको डब्लूएचओको रिपोर्टले देखाएको छ। “सन् २०२१ मा विश्वभर भएका आत्महत्यामध्ये अधिकांश (७३ प्रतिशत) निम्न तथा मध्यम आय भएका देशहरूमा भएका थिए, जहाँ विश्वको धेरैजसो जनसंख्या बसोबास गर्छ,” रिपोर्टमा उल्लेख छ।
विश्वभर भएका आत्महत्यामध्ये आधाभन्दा बढी (५६ प्रतिशत) घटना ५० वर्ष उमेर पुग्नुअघि भएका थिए। आत्महत्या गरी ज्यान गुमाउने १०–१९ वर्ष उमेर समूहका मध्ये अधिकांश (८४ प्रतिशत) निम्न तथा मध्यम आय भएका देशका भएको उक्त रिपोर्टमा उल्लेख छ।
किन गर्छन् आत्महत्या?
बाल मनोचिकित्सक डा. झाका अनुसार कतिपयले सानै उमेरमा आत्महत्या प्रयास गरेको घटना पनि छन्। सामाजिक, आर्थिक र विभिन्न मनोवैज्ञानिक कारणले बालबालिकाले आत्महत्याका गर्छन्। उनका अनुसार ७ वर्षसम्मको बालकले समेत आत्महत्या प्रयास गरेका छन्।
बालबालिकालाई स्कुलमा गरिने ‘बुलिङ’ पनि आत्महत्याको कारण हुनेगर्छ। अन्य प्रकारका दुर्व्यवहार पनि कारण बन्नसक्छ। “बालबालिकामा समेत विभिन्न मानसिक रोगहरू लाग्नसक्छ। उनीहरू आवेगमा निर्णय लिन्छन् र आत्महत्या गर्छन्,” डा. झा भन्छन्, “हामीलाई सानो लागेका कुरा उनीहरूलाई सानो नलाग्न सक्छ। यस्ता कारणले उनीहरूलाई आत्महत्याका लागि उक्साउँछ।”
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरे घरेलुु हिंसा, पारिवारिक सम्बन्ध, गरिबी, अशिक्षा, एक्लोपनालगायत कारणले बालबालिकाले आत्महत्या गर्ने बताउँछन्। पढाइमा सोचेजस्तो नतिजा नआउँदा पनि आत्महत्या गर्छन्।
यस्तै, सामाजिक सञ्जाल पनि आत्महत्याको कारण बन्न थालेको छ। “बालबालिकाले सामाजिक सञ्जालमा विभिन्न कुराहरू हेर्ने, सुन्ने गर्छन्। विभिन्न मान्छेसँग सम्पर्कमा पुग्छन्, जसले उनीहरूलाई कहिलेकाहीँ नकारात्मक सोचतर्फ लैजान्छ र आत्महत्या गर्ने गरेका छन्,” प्रवक्ता घिमिरे भन्छन्।
कसरी घटाउने?
विश्वभर सन् २०३० सम्म आत्महत्यालाई एकतिहाइले कमी ल्याउने संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य छ। उक्त लक्ष्य पूरा गर्न आत्महत्या दर घटाउन अझै तीव्र रूपमा काम गर्नुपर्ने डब्लूएचओको रिपोर्टले औँल्याएको छ।
सन् २०१५ देखि २०१९ सम्मको स्थितिलाई आधार मान्दा त्यही अवस्था रहे २०३० सम्म केवल १२ प्रतिशतले मात्र आत्महत्यामा कमी हुने अनुमान गरिएको छ। एकतिहाइको लक्ष्य पूरा गर्न हरेक देशले आफ्ना प्रयास तीनगुणा बढाउनुपर्ने र वार्षिक औसत कमी दर १ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याउनुपर्ने रिपोर्टमा उल्लेख छ।
आत्महत्या रोकथामका लागि सरकार र समुदायहरूले प्रमुख चारवटा काम गर्नुपर्ने डब्लूएचओले औँल्याएको छ। आत्महत्या गर्न प्रयोग हुने अत्यधिक खतरनाक विषादी, हातहतियारलगायत साधनको पहुँच सीमित गर्नु पर्नेछ। किनकि, विश्वव्यापी रूपमा १५–२० प्रतिशत आत्महत्या विषादी सेवनबाट हुन्छ।
अमेरिका महादेशमा मात्र विषादी र बन्दुकको पहुँच सीमित गर्दा १० वर्षमा एक लाख २० हजार भन्दा बढी आत्महत्याबाट हुने मृत्यु रोक्न सकिने डब्लूएचओको रिपोर्टमा छ। यसबाहेक किशोरकिशोरीहरूमा सामाजिक र भावनात्मक जीवन सीपको विकास गर्ने, मिडियासँगको साझेदारीमा जनचेतना फैलाउने र आत्महत्याका लक्षण देखिएका व्यक्तिको चाँडो पहिचान गरेर उपचार गराउँदा पनि यो दर घटाउन सकिन्छ।
बाल मनोचिकित्सक डा. झा बालबालिकामा व्यवहार परवर्तन देखिन थाल्यो, बोल्न डराउन थाले भने सूचकका रूपमा बुझ्नुपर्ने बताउँछन्। अभिभावकले बच्चाको व्यवहारको परिवर्तन बुझेर मनोपरामर्शदातासम्म लैजानुपर्ने उनको सुझाव छ। “बच्चाका कुरा सुन्नुपर्छ, साना कुरा भनेर उनीहरूका विषयलाई बेवास्ता गर्नु हुँदैन,” झा भन्छन्।
बालबालिकाको आत्महत्या कम गर्न मुख्यगरी घरपरिवारको ठूलो भूमिका हुने नेपाल प्रहरीका प्रवक्ता डीआईजी घिमिरे बताउँछन्। “बच्चाहरूले के गरिरहेका छन्? कस्तो व्यवहार देखाइरहेका छन्? स्वभावमा फरकपना भए पहिले अभिभावकले थाहा पाउछन्। त्यसैले बच्चाको मानसिक अवस्था बुझेर उनीहरूको ख्याल राख्नुपर्छ,” उनी भन्छन्।
नेपाल प्रहरीले पनि यसका लागि विभिन्न कार्यक्रम राखेर जनचेतना फैलाउने काम गरिरहेको उनले जानकारी दिए। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले सचेतना कार्यक्रम गर्छ। उनी भन्छन्, “विद्यालयमा पनि गएर विभिन्न कार्यक्रम गरेका छौँ। यसलाई घटाउन अविभावकको मुख्य भूमिका हुन्छ।”
चिकित्सा मनोविद् निकिता प्रधान कोही बालबालिकाले ‘आत्महत्या गर्दैछु’ वा ‘मर्न मन लाग्यो’ भन्यो भने त्यसलाई बेवास्ता गर्न नहुने बताउँछिन्। कसैले आफूले गर्न लागेको कुरा भनिरहेको हुने उनको भनाइ छ।
बालबालिकालाई मनोपरामर्शदाताको आवश्यकता परे ११६६ नम्बरको हटलाइनबाट पनि सल्लाह लिन सकिने प्रधानले जानकारी दिइन्। उनी भन्छिन्, “यस्ता कुरालाई गम्भीर रूपमा लिएर सपोर्ट गर्नुपर्छ। घरायसी वतावरणहरू राम्रो बनाउनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
