वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको संघर्ष समितिका संयोजक लिङ्खिमले बताए।
काठमाडौँ – जैविक विविधता, पर्यावरण र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा मुन्धुमी विधिअनुसार वृक्षरोपण गरिएको छ। मुन्धुमी परम्पराअनुसार प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङमाले क्षमा मागेपछि मात्र बिरुवा रोप्ने प्रचलनअनुसार मुन्धुम वाचन गर्दै फेदाङमाहरूबाटै वृक्षरोपण शुरू गरिएको थियो।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार पूर्वी नेपालका नौ जिल्लाका प्रकृतिप्रेमीले केबलकार निर्माणका लागि रूख काटिएको स्थानमा करिब ६ हजार बिरुवा रोपेका छन्। यसअघि गत वर्ष पनि करिब ६० हजार बिरुवा रोपिएको थियो।
पाथिभरा केबलकार दर्शन प्रालिले मुक्कुमलुङ क्षेत्रमा करिब ५० हजार रुख काटिसकेको छ। संयोजक लिङ्खिमका अनुसार, यो केबलकार निर्माणले आदिवासी जनजाति लिम्बू समुदाय, हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थामा आघात पुर्याउनुका साथै अति संकटापन्न रेडपान्डालगायत जीवजन्तुको वासस्थान विनाश गर्ने भन्दै स्थानीयले यसको विरोध गर्दै आएका छन्। यसैको प्रतिरोधस्वरूप यो 'वृक्षरोपण शृंखला-२' आयोजना गरिएको हो। सुख्खा र चिसो मौसमका कारण बिरुवा बाँच्ने सम्भावना कम भए पनि यस पटक गुराँस, लौठ सल्ला र चिमलका बिरुवा रोपिएको समितिले जनाएको छ।
वृक्षरोपणका लागि मुन्धुमी विधि सम्पन्न गर्न आएका फेदाङमाहरूलाई प्रहरीले मेवासा चेकपोस्टमा करिब २ घण्टा रोकेका थिए। मुन्धुमी परम्पराअनुसार अनुष्ठानमा मुन्धुमी लठ्ठी र खुकुरी अनिवार्य हुने भए पनि प्रहरीले अनावश्यक दुःख दिएको संयोजक लिङ्खिमको भनाइ छ। शान्तिपूर्ण वृक्षरोपणका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि प्रहरीले अवरोध पुर्याएको उनले बताए।
मुक्कुमलुङ ताङसेप चुम्भोका १३ वटा संस्थाले सार्वजनिक अपील गर्दै विगतमा सुरक्षा निकाय र निर्माण पक्षबाट भएका हस्तक्षेप र दबाबका घटनाप्रति चिन्ता व्यक्त गर्दै सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई अनुगमनका लागि अनुरोध गरेका छन्।
विगत पाँच वर्षयता स्थानीय आदिवासी केबलकार निर्माण हुनुहुँदैन भन्दै आन्दोलनरत छन्। २०८१ कात्तिक २३ गते केबलकार शिलान्यासको दिन स्थानीय अभियानकर्मी चन्द्र मादेन र तीर्थयात्रीका सहयोगी अर्जुन प्राङ्देन सुरक्षाकर्मीको आडमा काटिएर गम्भीर घाइते भएका थिए। दोषीलाई कारबाहीका लागि प्रहरीमा जाहेरी दिँदा नलिएपछि पीडितहरूले उच्च अदालत इलाममा रिट दायर गरेका थिए। इलाम उच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिए पनि जिल्ला प्रहरी कार्यालयले अझै जाहेरी नलिएको पहिचानवादी मोर्चाका संघीय सदस्य चन्द्र मादेनले बताए।
कात्तिक २३ गतेको घटनापछि माघ १२ गते शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहेका मुक्कुमलुङ संरक्षणकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा तीन जना, याम लिम्बु, सगुन लावती र धर्मन पालुङवा, गम्भीर घाइते भएका थिए। उनीहरूको उपचार खर्च सरकारले व्यहोरेको संघर्ष समितिले जानकारी दिएको छ।
फागुन १० गते क्षमा याचना अनुष्ठानको अन्तिम दिन शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। झडप शान्त भएको करिब ३ घण्टापछि राति ११ बजे सुरक्षाकर्मीले चन्द्र मादेन र प्रदीप मादेनको घरमा करिब २ घण्टा आक्रमण गरेको घरधनी रीता कङलिबाले बताएकी छन्। सो घटनामा १४ जना घाइते भएका थिए भने १८ जना अभियानकर्मीहरूलाई बिनापक्राउ पुर्जी पक्राउ गरिएको थियो र १० जनालाई पक्राउ वारेन्ट जारी गरिएको थियो। उनीहरू सबै धरौटीमा रिहा भए पनि अझै तारिख धाइरहेको पहिचानवादी मोर्चाका संघीय सदस्य असिम पालुङवाले बताए।
गोलीकाण्डपछि सरकार र आन्दोलनकारीबीच दुई चरणमा वार्ता भए पनि सहमति हुन सकेको छैन। केबलकार निर्माण खारेजीको माग गर्दै गोली लागी घाइते भएका याम लिम्बूलगायत सात जनाले २०८१ चैत ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले 'केबलकार निर्माणको कामलाई यथास्थितिमा राख्नू' भन्ने अल्पकालीन आदेश जारी गरेको थियो।
यसपछि करिब दुई महिना मुक्कुमलुङ क्षेत्र शान्त बनेको थियो। तर, न्यायाधीश अब्दुल अजिज मुसलमान र नकुल सुवेदीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश दिएको छ। मुद्दा विचाराधीन अवस्थामै रहेको छ। मुक्कुमलुङ संरक्षणकारीले 'नो केबलकार' भन्दै आन्दोलनका कार्यक्रमलाई पुनः निरन्तरता दिएका छन्।
संघर्ष समितिका संयोजक लिङ्खिमका अनुसार वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
