दिलभूषण पाठकलाई धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल धरपकड नगर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

काठमाडौँ– उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार पाठकलाई तत्काल धरपकड नगर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो।

हिल्टन होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा एवं परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेपछि पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। यसै उजुरीका आधारमा काठमाडौँ जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसपछि पाठकले गृह मन्त्रालयलगायतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। उक्त रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश भण्डारीको इजलासले अन्तरिम आदेशबारे थप छलफल गर्न दुवै पक्षलाई असार ५ गतेका लागि बोलाएको छ। इजलासले यो अवधिसम्म पाठकलाई कानूनबमोजिम बाहेक धरपकड नगर्न/नगराउन विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।