ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्रे हुँदै म्याग्दीको रत्नेचौर–भकुन्डे सडक

एक किलोमिटर २०० मिटर ढलान भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी छ। 

म्याग्दी– म्याग्दीको रत्नेचौर–भकुन्डे सडक ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्र गर्न थालिएको छ। बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुन्डे हुँदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयप्रमुख हरि सुवेदीले जानकारी दिए। एक किलोमिटर २०० मिटर ढलान भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी छ। 

२०५६ सालमा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले २३ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ। यसअघि एक घण्टाको यात्रा अवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए। चालु आर्थिक वर्षमा विनियोजन भएको ४ करोड बजेट खर्च भइसकेको छ। आगामी वर्ष ३ करोड रुपैयाँ विनियोजन भएको छ।