दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।
काठमाडौँ– अमेरिकाको सिकागोस्थित एक म्युजियममा चार वर्षअघि फेला परेको तलेजु भवानीको ठूलो कण्ठी (हार) घरफिर्ता गर्न अमेरिकाले यसको उत्पत्तिको पहिचान तथा बिक्री भएको भन्ने ठोस प्रमाण बुझाउनुपर्ने ‘नयाँ सर्त’ अघि सारेको छ।
अमेरिकी गृह प्रशासनअन्तर्गतको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, अध्यागमन तथा भन्सार निकाय (आईसीई)ले विभिन्न ४ वटा सरोकारमा प्रश्न गर्दै पुरातत्त्व विभागलाई पत्राचार गरेको हो।
आईसीईले तलेजु हारको प्रामाणिकतामाथि अनुसन्धान गरिरहेको छ। दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए। त्यसपछि गत चैत ५ र वैशाख १ गते आईसीईले दोहोर्याउँदै विभागलाई पत्राचार गरेको थियो। उक्त हार मुलचोकबाट चोरिएको र पछि अमेरिकामा बेचिएको भन्नेबारे ठोस आधार (व्याख्या) चाहिने भन्दै आईसीईले बहुमूल्य हार मुलचोकबाट थाहै नपाइ अमेरिका पुगेको तथा आर्ट इन्स्टिच्युट अफ सिकागोमा फेला परेको विवरणमा ‘आश्वस्त’ हुन नसकिएको जनाएको छ।

“मुलचोकबाट कण्ठीहार चोरिएर अमेरिकामा बेचिएको हो भने त्यसको ठोस आधार चाहिन्छ,” आईसीईले राखेको जिज्ञासामा भनिएको छ, “के नेपालको राजपरिवारलाई नेकलेस (हार) बेच्ने अधिकार छ?”
अर्को सरोकारमा ‘नेपालको राजपरिवारलाई हार बेच्ने अधिकार छैन भनेर प्रमाणित हुने सान्दर्भिक नेपाली कानूनको प्रतिलिपिसमेत उपलब्ध गराउन’ भनिएको छ। राजपरिवारले ब्रुस मिलरलाई हार गैरकानूनी तवरबाट बेचेको प्रमाण पनि जरुरी रहेको पत्रमा उल्लेख गरिएको छ।
तलेजु हारको प्रामाणिकता र उत्पत्तिको पहिचानबारे यसको १०० वर्ष पुरानो लगत (तलेजु हारको ‘प्रताप मल्ल’ लगत) फेला परेपछि तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले यसको प्रमाणित प्रति पुरातत्त्व विभागमा बुझाइसकेका छन्। उक्त लगतमा ‘चाँदीका पातामा सुनका मलम्बा लाग्याको, पक्का मोतीको घेरा लाग्याको, अष्टमात्रिकाको मूर्ति भयाको, लगनका भगवती देवी भयाको, स्वस्ती श्री राजेन्द्रप्रताप मल्ल भनिएको ठूलो कण्ठी एक’ भन्ने विवरणसहित तलेजु मन्दिरमा रहेको जायजेथाको विवरण खुलाइएको छ।
तलेजु हार घरफिर्ता ल्याउने सरोकारमा जवाफ दिँदै पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले अमेरिकी होमल्यान्ड सेक्युरिटीअन्तर्गतका पदाधिकारीसँग भेटवार्ता भइरहेको जानकारी दिइन्। “हामीले अरू जिज्ञासालाई लिएर कागजात सहितका प्रमाण, लगत–निस्सा आदि पठाइसकेका छौँ,” महानिर्देशक प्रधानाङ्गले उकालोसँग भनिन्, “राजपरिवार सम्बद्ध रहेर गरिएको प्रश्नमा भने जवाफ दिएका छैनौँ। राज्यको सम्पदा र सार्वजनिक सम्पत्तिबारे कुनै एउटा परिवारले किनबेच गर्ने (वा नगर्ने) भन्नेबारेको सरोकार जवाफ दिइरहनुपर्ने विषय होइन भन्ने ठानेका छौँ।”
उनले कुनै सम्पदा कुनै परिवारमा जोडिने विषय नभएको भन्दै ‘सार्वजनिक सम्पत्ति यदि कुनै परिवारले कसैलाई उपहार दिएकै भए पनि त्यो गैरकानूनी हुने’ बताइन् । “तलेजु हारसम्बन्धी उत्पत्तिको पहिचानसहित अरू प्रमाण हामीले पठाइसकेका छौँ,” उनले भनिन्, “बाँकी विषय भनेको आपसी संवाद र छलफलमा निर्भर रहने कुरा हो। कुनै विशिष्ट सम्पदा कुन परिवारले कसलाई बेच्यो वा गिफ्ट दियो भन्ने ५० वर्ष अघिको कुरा अहिले प्रश्नोत्तरमा पर्छ भन्ने लाग्दैन।”

एल्सडर्फ दम्पती र ब्रुस मिलर किस्सा
तलेजु मन्दिरको चल–अचल सम्पत्तिको लगत राख्ने भन्दै २०२६ सालमा तत्कालीन दरबारबाट विशेष समिति बनाइएपछि कण्ठीहार फेला नपरेको विषय यसअघि नै बाहिर आएको थियो। त्यही हार २०३३ साल (१९७६ जुन २२) मा अमेरिकी आर्ट कलेक्टर जेम्स डब्लु एल्सडर्फ र मार्लिन ब्रुडर एल्सडर्फ दम्पतीले खरिद गरेको र सन् २०१० मा सिकागो म्युजियमलाई प्रदान गरिएको विवरण म्युजियमकै सूचीपत्रमा उल्लेख छ।
उक्त हार अर्का कला व्यापारी ब्रुस मिलरले अमेरिकाको क्यालिफोर्नियामा एल्सडर्फ दम्पतीलाई बिक्री गरेका थिए। यो हार कसरी अमेरिका पुग्यो अथवा कतिमा बेचबिखन भयो? भन्ने विवरण कतै राखिएको छैन। एकैचोटी सन् २०१० आर्ट इन्स्टिच्युट अफ सिकागोलाई हस्तान्तरण गरिएको भन्ने विवरण म्युजियमले आफ्नो रेकर्डमा राखेकाबारे पनि धेरैपछि मात्रै थाहा भएको थियो। अमेरिकामा रहेकी पत्रकार श्वेताज्ञानु बानियाँले २०७८ जेठमा पहिलोपटक तलेजु हारको अवस्थितिबारे तस्वीरसहित प्रमाण सामाजिक सञ्जालमा राखेकी थिइन्।
संयोगबस, यिनै एल्सडर्फ दम्पतीले सिकागो म्युजियममा बुझाएको चुर्तुमुखी शिवलिंग संकलकको इच्छाअनुसार नेपाल फर्काइए पनि एल्सडर्फकै अर्को उपहार तलेजु हार फर्काउनेबारे भने म्युजियम मौन छ। “लगत प्रमाण र अरू अनुसन्धानका आधारमा तलेजु हार नेपालकै भएको पुष्टी भइसकेको छ, अहिले आएर तत्काल जवाफ दिन मुस्किल पार्ने केही सतही जिज्ञासा राखेर त्यसमा पत्राचार वा सम्बोधन गर्ने काम भइरहेको छ,” पुरातत्त्वकी अधिकृत सरिता सुवेदी भन्छिन्।
सम्पदाप्रेमी आलोकसिद्धी तुलाधारले पनि तलेजु हारसम्बद्ध सबै प्रमाण सिकागो म्युजियममा पुगिसकेको अवस्थामा अनावश्यक सन्दर्भका प्रश्न गरेर यो मामलालाई अल्झाउन खोजिनु न्यायोचित नरहेको बताए। “हारको त्यही कलात्मक कृतिको परिचयमा राजा प्रताप मल्ल र नेपालको नाम राखिएका कारण अब यसमा उत्पत्तिको पहिचान खोजिरहनुको तुक छैन,” उनले भने, “बरु परराष्ट्र मन्त्रालय र अमेरिकास्थित नेपाली दूतावासको थप सक्रियता जरुरी छ।”
काठमाडौँमा जारी सम्पदा पुनर्स्थापना अभियानको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि तलेजु हार घरफिर्तीको सरोकारलाई बहसको मुख्य विषय बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
