टिरोन अलेक्ज्यान्डर नाम गरेका ३५ वर्षीय ती व्यक्तिले झुटा कागजात पेस गरेर उडान परिचारक र पाइलटहरूका लागि आरक्षित टिकट बुक गर्थे।
काठमाडौँ– हवाई टिकट निकै महँगो भएको आजको समयमा हरेक सामान्य मानिसले विमानबाट यात्रा गर्न सक्दैनन्। तर अमेरिकाका एक व्यक्तिले भने १२० पटकसम्म सित्तैमा यात्रा गरेर हवाई सुरक्षालाई नै चुनाैती दिएका छन्।
टिरोन अलेक्ज्यान्डर नाम गरेका ३५ वर्षीय ती व्यक्तिले छ वर्षसम्म आफूलाई विमान चालक दलको सदस्य (एटेन्डेन्ट अर्थात् परिचारक) भनेर नि:शुल्क हवाई यात्रा गरे। उनी २०१८ देखि २०२४ सम्म धेरै प्रमुख अमेरिकी एअरलाइन्सहरूमा नक्कली परिचारक बनेर सित्तैमा उडिरहे। अन्तत: उनी कानूनको नियन्त्रणमा आएका छन्।
अमेरिकाको दक्षिणी फ्लोरिडास्थित जिल्ला अधिवक्ताले मंगलबार एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिले विमान परिचारक वा पाइलटको बहाना बनाएर निःशुल्क उडान गरेको आरोपमा अदालतले दोषी ठहर गरेको बताए।
अलेक्ज्यान्डरले अन्य एअरलाइन्सका उडान परिचारक र पाइलटहरूलाई निःशुल्क उडान गर्न अनुमति दिने साझा एअरलाइन नीतिको फाइदा उठाएको बताइएको छ। उनले उडान परिचारक र पाइलटहरूका लागि आरक्षित टिकट बुक गर्थे, जुन शीर्ष सुविधाहरूमध्येमा पर्छन्। यो लाभ वरिष्ठता र कार्यकालमा आधारित हुन्छ।
अभियोजकहरूको समाचार विज्ञप्ति अनुसार, एअरलाइन्सको अनलाइन टिकट प्रणाली प्रयोग गरेर, अलेक्ज्यान्डरले सात फरक फ्लाइटको लागि विभिन्न समयमा काम गरेको दाबी गरेका थिए। २०१३ देखि २०१५ सम्म क्षेत्रीय एअरलाइन्सका लागि उडान परिचारकको रूपमा काम गरेको भन्दै अलेक्ज्यान्डरले अनलाइन चेक–इन प्रक्रियाको क्रममा विभिन्न एअरलाइन्स वेबसाइटहरूमा गएर ‘उडान परिचारक’ विकल्प जाँच गर्थे।
फारममा आवेदकहरूले आफ्नो रोजगारदाता, ब्याज नम्बरलगायत प्रदान गर्नुपर्नेमा अलेक्ज्यान्डरले झूटा जानकारी प्रयोग गरिरहे, जसलाई स्पष्ट रूपमा कसैले जाँच गर्न चासो नदिएको विज्ञप्तिमा जनाइएको छ। अभियोजन पक्षले विज्ञप्तिमा भनेको छ, “अन्ततः अलेक्जेन्डरले उडान परिचारक भएको झुटो दाबी गरेर १२० भन्दा बढी निःशुल्क उडानहरू बुक गरेको पाइयो।”
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार यी आरोपहरूमा अलेक्ज्यान्डरलाई फ्लोरिडामा अभियोग लगाइएको थियो। उनलाई फेब्रुअरीमा क्यालिफोर्नियामा पक्राउ गरियो।
अदालतमा देखाइएको प्रमाण अनुसार, ६ वर्षको अवधिमा अलेक्ज्यान्डरले एटलान्टा, डलास, लास भेगास र लस एन्जलस लगायतका गन्तव्यहरूमा चार फरक एअरलाइन्समा १२० भन्दा बढी उडानहरू जालसाजीपूर्वक बुक गरेको पाइयो। उनले ३० वटा फरक ब्याज नम्बर प्रयोग गरेर उडान परिचारिका वा कर्मचारी सदस्य भएको नाटक गर्दै एउटै एअरलाइनमा ३४ पटक उडान गरेका थिए।
सीएनएनका अनुसार टिरोन अलेक्ज्यान्डरलाई वायर ठगीको चार मुद्दा (प्रत्येकमा २० वर्षको जेल सजाय) र विमानस्थलको प्रतिबन्धित क्षेत्रमा जालसाजीपूर्वक पहुँच गरेको एउटा मुद्दामा दोषी ठहराइएको छ, जसमा अधिकतम १० वर्षको जेल सजाय हुन्छ। यस मुद्दामा उनको सजाय आउँदो अगस्ट २५ को लागि तय गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
