साढे २ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा यातायात कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध दुई करोड ५१ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौँ तह) कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले गौतमविरुद्ध मंगलबार गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जानकारी दिए। 

आयोगका अनुसार, अनुसन्धानका क्रममा अधिकृत गौतमले २०५५ वैशाख ७ गतेदेखि २०७९ चैत २४ गतेसम्मको जाँच अवधिमा वैध स्रोतबाट दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँ आम्दानी गरेको पाइएको छ। तर, सोही अवधिमा उनले आफ्नो र एकाघर परिवारको नाममा घर निर्माण, घरजग्गा खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम भुक्तानी लगायतका शीर्षकमा पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। 

कुल आयभन्दा कुल व्यय दुई करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बढी देखिएको र उक्त रकमको स्रोत खुल्न नसकेकाले गौतमले गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको आयोगको दाबी छ। अख्तियारले उक्त रकमलाई बिगो कायम गरी कैद र बिगोबमोजिम जरिबाना माग गरेर उनीविरुद्ध मुद्दा दायर गरेको हो।

साथै, आयोगले गैरकानूनी रूपमा आर्जन गरेको रकमबाट गौतमले श्रीमती सरला नेपालको नाममा खरिद गरेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सरलालाई समेत प्रतिवादी बनाएको छ।