इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि दूतावासले थाल्यो रजिस्ट्रेसन

इरान–इजरायलबीच बढ्दै गएको द्वन्द्वसँगै इजरायलमा कार्यरत नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसन शुरू गरेको दूतावासले जनाएको छ।

काठमाडाैँ– इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नका निम्ति तेल अभिभस्थित नेपाली दूतावासले अनलाइन रजिस्ट्रेसन शुरू गरेको छ। गत शुक्रबारदेखि इरान–इजरायलबीच बढ्दै गएको द्वन्द्वसँगै इजरायलमा कार्यरत नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसन शुरू गरेको दूतावासले जनाएको छ।

"इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ," दूतावासको सूचनामा भनिएको छ।

रजिस्ट्रेसनमार्फत नै नेपालीहरूको अवस्थाबारे सूचना संकलनको काम पनि थालेकाले त्यसमा सहभागी हुन दूतावासले आग्रह गरेको छ। रजिस्ट्रेसन प्रक्रियामा सहभागी हुन इच्छुकले यस लिंकमा क्लिक गरी रजिस्ट्रेसन गर्न सक्नेछन्।

धेरैजसो नेपालीहरू इजरायलको 'केयर गिभर' क्षेत्रमा कार्यरत छन्। त्यसबाहेक घरेलु श्रमिक र अन्य पेसा व्यवसायमा रहेकाहरूसमेत गरी पाँच हजार ५०० को हाराहारीमा नेपाली इजरायलमा रहेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत शुक्रबार इजरायलले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेदेखि दुई देशबीचको हवाई आक्रमण जारी छ। इरानी आक्रमणले इजरायलमा मुख्य शहर तेल अभिभ, जेरुसेलमलगायतलाई निशान बनाइरहेको छ। यी क्षेत्रमा नेपाली पनि कार्यरत रहेका छन्।

इरानी आक्रमणले इजरायलमा १५ जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने ३०० भन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ। यस्तै, इजरायली आक्रमणबाट इरानमा २२० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने एक हजारभन्दा धेरै घाइते भएका छन्। तत्कालै यी दुई देश वार्तामा आउनसक्ने कुनै संकेत देखिएको छैन।

यो पनि: इजरायलमा द्वन्द्व चलिरह्यो, नेपाली श्रमिक गइरहे