स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? अनि उनी आफै टुङ्ना बनाइछाड्ने अठोट र कर्ममा लागे।
काठमाडौँ– अग्रिम लामा टुङ्ना बनाउन तम्सिँदा उनीसँग मासु पसलबाट ल्याएको अचानो, खुकुरी र ह्याम्मर मात्र थिए। यिनै औजारका भरमा बाजा बनाउने उनको प्रयासलाई कसैले पत्याइदिएन। तर उनले टुङ्ना मात्र होइन, सारंगी र आरबाजो पनि बनाउन सिके।
अग्रिम एक दशकभन्दा लामो समयदेखि मुख्यतः टुङ्नाबारे अध्ययन गरिरहेका छन्। कुनै बेला घरको कौसीमा टुङ्ना बनाउन सिकेका उनी अहिले ललितपुरको चांगाथलीमा ‘ताम्बा प्रोडक्सन्स’ नामको वर्कशप चलाउँछन्।
तामाङ समुदायमा चाडपर्वमा टुङ्ना बजाउँदै गाउनेलाई ताम्बा भनिन्छ। ताम्बाले गीतको माध्यमबाट इतिहास, संस्कृति र समाजको कथा भन्छन्। उनी भने ताम्बा प्रोडक्सनमार्फत टुङ्नाजस्ता रैथाने बाजाको कथा जोगाइरहेका छन्।
अग्रिमको रुचि भने पेन्टिङमा थियो। २०६० सालमा एसएलसी पास गरेपछि उनी ललितकला क्याम्पस भर्ना भए। क्याम्पसमा लगातार बाजा बजेको सुन्न थाले। उनको ध्यान सितारको धुनतिर गयो। हरेक दिनजसो सुनिन धुनबारे साथीसँग जिज्ञासा राखे।
साथीले संगीतको कक्षा भइरहेको जवाफ दिए। अनि मात्र उनले संगीतको पनि पढाइ हुन्छ भन्ने थाहा पाए। उनले क्याम्पस प्रमुखको कक्षमा पुगेर पेन्टिङ होइन संगीत पढ्ने इच्छा गरे।
उत्साहित भएर क्याम्पस प्रमुखको कक्ष पसेका उनी निराश भएर बाहिरिनुपर्यो। क्याम्पस प्रमुखले विषय परिवर्तन गर्न नमिल्ने बताएका थिए। बाहिर आएर यही कुरा साथीहरूलाई सुनाए।
साथीहरूले उनलाई स्ववियुमा गएर आफ्नो गुनासो राख्न भने। “कसले कहाँ के गर्यो थाहा भएन, तर दुई दिनपछि संगीत पढ्न जाऊ भनेर स्ववियुका साथीले भने,” अग्रिम सुनाउँछन्।
संगीतबाट समाज अध्ययन
ललितकलाबाट उनले ‘डिप्लोमा इन म्युजिक’ सकेपछि संगीतप्रतिको रुझान झनै बढ्यो। थप अध्ययन गर्ने सोचले २०६४ सालमा काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ म्युजिक’ पुगे। त्यहाँ उनले संगीत भनेको गाउने र बजाउने मात्र होइन रहेछ, यसमा समाज र संस्कृति पनि जोडिएको रहेछ भन्ने बुझे।
यो बुझाइले अग्रिम ‘इथ्नोम्युजिकोलोजी’तर्फ आकर्षित भए। “इथ्नोम्युजिकोलोजी भनेको एन्थ्रोपोलोजी अनि म्युजिकोलोजीको सम्मिश्रण हो,” उनी भन्छन्।
अब उनलाई संगीतको सामाजिक, सांस्कृतिक र मानवीय पाटोले आकर्षित गर्न थाल्यो। कुनै पनि संगीत कहाँबाट आयो? बाजा कसले बनाउँछ? कसले बजाउँछ? कुन समुदायमा कुन बाजा हुन्छ? उनी यस्ता विषयमा घोत्लिन थाले।
उनले नेवार समुदायको संगीत दस्तावेजीकरण भएको देखे। अन्य समुदायको संगीतबारे खासै अध्ययन नभएको पाए। अनि सबै समुदायको संगीतको दस्तावेजीकरण आवश्यक ठाने। शुरूआत आफ्नै तामाङ समुदायबाट गरे।
उनको अध्ययन टुङ्नामा केन्द्रित हुन थाल्यो। सानै उमेरदेखि टुङ्ना देखेको भए पनि हातमा लिने अवसर पाएका थिएनन्। संगीतमा स्नाकोत्तर पढ्न थालेका उनी अब टुङ्नामै केन्द्रित भएर अनुसन्धान गर्न थाले।
थेसिसका लागी ‘टुङ्ना कसरी बनाउने’ भन्ने विषय रोजे। २०६९ सालतिर टुङ्ना बनाउने र बजाउने मान्छे खोज्दै रसुवातिर लागे। स्याफ्रुबेसीको चिया पसलमै उनले टुङ्ना बजाउने मान्छे भेटे। सोध्दै जाँदा त्यहाँ गाउँगाउँ पुगेर टुङ्ना बजाउने धेरै रहेछन्। तर बनाउने कोही रहेनछ।
त्यहाँ टुङ्ना पनि थिएनन्। सबैले त्यही चिया पसलको टुङ्ना माग्दै बजाउने थाहा पाए। रसुवाको गाउँमा बजाउने त धेरै थिए, तर टुङ्ना बनाउने कम थिए। टुङ्ना आर्थिक पाटोसँग नजोडिएकोले उनीहरू फर्निचरको कामसँगै खेतीपाती गर्थे।
रसुवाबाट काठमाडौँ फर्किएपछि उनले बौद्धमा टुङ्ना बनाउने कोही भएको जानकारी पाए। उनी खोज्दै जाँदा सिन्धुपाल्चोक घर भएका धावा वांगेल भेटिए। उनी पनि जीविकोपार्जनका लागि फर्निचरमा काम गर्थे।
यस्तै विषय राखेर उनले स्नाकोत्तरको थेसिस सकाए, तर टुङ्ना बनाउने कला सिक्न पाएनन्। रसुवामा टुङ्ना बनाउन सिकाउने मान्छे त थिए, तर उनीहरू विरलै टुङ्ना बनाउँथे। काठमाडौँमा भेटिएकाले नयाँ मान्छेलाई सिकाउन हिच्किचाए। “हामीमा स्किल ट्रान्सफर गर्ने चलन नै छैन जस्तो लाग्छ,” उनी भन्छन्।
टुङ्ना बनाइछाड्ने लहड
स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? आफै किन प्रयास नगर्ने?
उनले इन्टरनेटमा टुङ्ना बनाउने तरिका खोजे, तर भेटाएनन्। यद्यपि युट्युबमा गितार बनाउने तरिका भेट्याए। त्यही शैली पछ्याएर टुङ्ना बनाउने योजना बनाए।
उनले साथीको मासु पसलबाट फाल्न ठिक्क पारेको अचानो कोटेश्वरस्थित घर ल्याए। खुकुरी र ह्याम्मर घरमै थिए। “टुङ्ना बनाउन कस्तो काठ चाहिन्छ, के कस्तो औजार चाहिन्छ केही थाहा थिएन। लहडकै भरमा लागेको थिएँ,” उनी भन्छन्।
काठको काममा ‘चिजेल’ प्रयोग हुन्छ भन्ने थाहा पाएर खोज्न बजार निस्किए। अंग्रेजीमा चिजेल भनिए पनि नेपालीमा ‘रामो’ भनिन्छ भन्ने उनलाई थाहा थिएन। चिजेल भन्दा पसलेले थाहै पाएनन्। उनी फनफनी बजार घुमिरहे।
उनैले एउटा पसलमा रामो देखे र घर ल्याए। अब खुकुरी, हम्मर र रामोको सहायताले अचानोलाई टुङ्नाको आकार दिन थाले। आकार आएपछि तार जोडे, तर बजाउन खोज्दा बजेन।
टुङ्नाको आकारमा भन्दा टेडोमेडो र गरुङ्गो थियो काठ। तार पनि जुन भेटे त्यही राखेका थिए। टुङ्नाको स्वरूप आए पनि त्यो बाजा भइसकेको थिएन।
अब उनी टुङ्नाको तार र त्यसमा प्रयोग गर्ने छालको खोजीमा लागे। अचानोको काठ बिग्रिसकेको थियो। उनले घरमै थन्काएको पुरानो खाटबाट काठ निकाले। घरको कौसीमा युट्यब हेर्दै काम थाले। “टुङ्ना बनाउँदा निस्किएका काठको बाइप्रोडक्ट थुप्रै पटक सेकुवा, आलु पोलेर खाइयो,” उनी भन्छन्।
आकार मिलेको र मीठो धुन बज्ने टुङ्ना एकैपटकमा बनेको थिएन। उनलाई आफूले चाहेजस्तै टुङ्ना बनाउन झन्डै चार वर्ष लाग्यो। आफूले बनाएको टुङ्नाको तस्वीर सामाजिक सञ्जालमा राखे।
सामाजिक सञ्जालमा देखेर केहीले टुङ्ना किन्ने इच्छा देखाए। रहर र लहडमा बनाएको बाजा किन्ने ग्राहक भेट्दा उनी उत्साही भए। उनले २०७३ सादेखि २०७६ सम्म कोटेश्वरको आफ्नै घरको कौसीलाई कार्यशाला बनाए। यो अवधिमा करिब ६० वटा टुङ्ना बनाएर बेचे।
ताम्बा प्रोडक्सन्सको जन्म
घरमा टुङ्ना बनाउँदा फोहोर हुने, अनि औजार चलाएको आवाजले अरूलाई व्यवधान हुने भयो। छिमेकीले पनि गुनासो गर्न थालेपछि अग्रिम विकल्प खोल्न थाले। “स्कुल वा कलेजको परीक्षा हुने समयमा त डराईडराई सकेसम्म सानो आवाज निस्कनेगरी काम गर्थें। तर पनि डिस्टर्ब भयो भन्ने छिमेकीको गुनासो आउँथ्यो,” उनी भन्छन्।
उनले २०७६ सालमा युवा स्वरोजगार कोषबारे थाहा पाए। यति बेलासम्म उनी टुङ्ना बनाउन सक्छन् भन्नेमा घरपरिवार ढुक्क भइसकेको थियो। ललितपुरको चांगाथलीमा बुवाको पाँच आना जग्गा थियो। त्यसैलाई धितो राखेर स्वरोजगार कोषबाट ७ लाख ऋण लिए।
भिरालो जग्गा सम्याउनै करिब ३ लाख खर्च भयो। बाँकी पैसाले वर्कशपको संरचना बन्दैन थियो। केही वर्षदेखि स्कुल र कलेज पढाएर जम्मा गरेको अलिअलि पैसा थियो। साथीभाइसँग सापटी पनि मागे। अनि हार्डवेयरबाट उधारोमा पनि सामान ल्याए।
अब उनी वर्कशपको संरचना बनाउन थाले। “स्कुल र कलेजमा संगीत पढाउन जान्थेँ, आउनासाथ लुगा खोलेर बालुवा उचाल्न थाल्थेँ,” उनी भन्छन्।
यसैबीच कोरोना महामारी शुरू भयो। “त्योबेला निक्कै दुःख पाएँ, कोटेश्वरदेखि हिँड्दै आउन ४५ मिनेट लाग्थ्यो, फर्किन उत्तिकै समय,” उनी भन्छन्, “सीमित बजेट थियो, कामदार कम थिए। आफू ढुंगा उचाल्थेँ, गाह्रो लगाउथेँ।”
२०७८ सालमा वर्कशपको संरचना तयार भयो। अब उनी खुलेर काम गर्नसक्ने भए। घरमा भन्दा वर्कशपमा टुङ्ना बनाउँदा अझ गुणस्तरको भएको उनी बताउँछन्। स्कुल कलेजमा संगीत पढाएर, म्युजिक स्टोरमा काम गरेर र टुङ्ना बेचेको पैसाले स्वरोजगार कोषको ऋण तिरे। सामानहरू थप्दै गए।
अहिले उनको वर्कशपमा करिब २० लाख रुपैयाँ बराबरका उपकरण छन्। उनी भन्छन्, “अझै पनि २०–३० लाखका उपकरण थप्न पाए राम्रो काम गर्न सकिन्थ्यो। तर शुरूका दिनतिर फर्केर हेर्दा त त्यो झुपडी हो भने यो महल नै हो।”
अग्रिमलाई एउटा टुङ्ना बनाउन करिब महिनादिन लाग्छ। एउटालाई उनी ५५ देखि ७५ हजारमा बेच्छन्। पछिल्लो समय सामाजिक सञ्जालमार्फत विदेशबाट पनि टुङ्नाको माग हुन थालेको छ।
उनी अझै पनि टुङ्नालाई विकसित गर्न र मानकीकरण गर्न बाँकी रहेको बताउँछन्। टुङ्नालाई समुदायबाट उठाएर स्टेजमा पुर्याउने लक्ष्य लिएका छन्। उनी टुङ्नालाई पनि ‘इलेक्ट्रिक’ बनाउने प्रयासमा छन्, तर सफल भएका छैनन्।
अग्रिम आफ्नो ताम्बा प्रोडक्सन्सलाई नै टुङ्नाबारे अध्ययन अध्यापन गराउने स्कुलमा रूपान्तरण गर्ने सोचमा पनि छन्। “म एक्लैले यो सबै गर्न त सम्भव नहोला, तर यो जिन्दगी टुङ्नालाई नै समर्पित भयो,” उनले कुराकानीको बिट मारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
