राष्ट्रियसभाको बैठकमा सांसदले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णय फिर्ता लिन सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– राष्ट्रियसभाको बिहीबार बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णय फिर्ता हुनुपर्ने धारणा राखेका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० रुपैयाँको उत्पादन अनुदान रोक्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै आइएको सुविधा रोक्ने निर्णयले किसान मर्कामा पर्ने उनीहरूले बताए। सांसद डा बेदुराम भुसालले उक्त अनुदान नरोक्न सरकारको ध्यानाकर्षण गराए। “यो अनुदान रोक्नु भनेको किसानलाई असहयोग गर्नु हो, तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरियोस्,” उनले भने।
सांसद गोपीबहादुर सार्की अछामीले उखु किसानलाई दिइँदै आइएको अनुदान रोकिँदा रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका किसान निरुत्साहित हुने बताए। सांसद मृगेन्द्रकुमार सिंह यादवले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरे।
सांसद यादवले इजरायल र इरानबीच भएको युद्धका कारण यी दुवै देशमा रहेका नेपालीको सुरक्षा प्रत्याभूति र तत्काल स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराए। सांसद इन्दिरादेवी गौतमले मानसिक स्वास्थ्य उपचारबारे सचेतना फैलाउन विद्यालयस्तरबाट बृहत् छलफल, परामर्श तथा उपचारको अनिवार्य व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद गंगाकुमारी बेल्वासेले ‘ब्लड डोनर्स सोसाइटी’ले चितवनमा उल्लेख्य मात्रामा रगत सङ्कलन गरेकाबारे चर्चा गर्दै सबैलाई रक्तदान गर्न आह्वान गरिन्। “अहिले रक्तदान गर्नेको संख्या ०.५ प्रतिशत छ। यसलाई २ प्रतिशतमा पुर्याउन सबैले पहल गर्नुपर्छ,” उनले भनिन्।
सांसद गोपाल भट्टराईले नारायणगढ–बुटवल खण्डको करिब ५० किलोमिटरसम्म अहिले ट्राफिक जाम हुने गरेको भन्दै विनयी खोलामा तत्काल पक्की पुल निर्माण गरी सञ्चालनमा ल्याउन माग गरे। सांसद जगप्रसाद शर्माले कृषि विकास बैंक र अन्य वित्तीय संस्थामा अवकाश कोष यथावत् राख्नुपर्ने माग गरे।
सांसद तारामान स्वाँर र सांसद शारदादेवी भट्टले कोरोना संक्रमण बढिरहेकाले सोको नियन्त्रणका लागि ध्यानाकर्षण गराए। उनीहरूले भारतबाट फर्किनेसँगै कोरोना संक्रमण देखिएको भन्दै सिमानाकामा परीक्षण र उच्च सतर्कता अपनाउन आग्रह गरे।
“असार २१ गतेदेखि हिजोसम्म सुदूरपश्चिमको सिमाना हुँदै फर्केका २३ जनामा कोरोना संक्रमण देखिएको छ,” सांसद स्वाँरले भने, “दैनिक जस्तो कोरोना पुष्टि भए पनि आवश्यक किट अभावले पर्याप्त संख्यामा परीक्षण हुन सकेको छैन।”
सांसद मायाप्रसाद शर्माले दोलखालाई पर्यटकीय जिल्ला घोषणा गर्दै उत्पादनको क्षेत्र बनाउन माग गरे। सांसद सुमित्रा बिसीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सडकमा सवारी आवागमन प्रभावित भएकातर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
