प्रतिनिधिसभामा नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेश गरेका छन्।

तस्वीर : रासस

काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेश गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिवेदन पेश गर्दै उनले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा बृहत् छलफल भएको बताए। सरोकार भएका पक्षसँग छलफल गरी विधेयकलाई समितिका तर्फबाट अन्तिम रूप दिइएको सभापति खतिवडाले जानकारी दिए।

आमाको नामबाट नागरिकता दिने व्यवस्था समितिले गरेको उनले बताए। आमा र देशलाई माया नगर्नेले कसैलाई पनि माया नगर्ने भएकाले आमाको नामबाट नागरिकता दिँदा कसैलाई आपत्ति हुन नहुने उनको धारणा थियो।

निजामती विधेयकसम्बन्धी समितिका तर्फबाट प्रतिनिधिसभामा प्रतिवेदन पेश गरिसकिएको उल्लेख गर्दै सभापति खतिवडाले बिहीबारको कार्यसूचीमा नपरे पनि शीघ्र पारित हुने विश्वास व्यक्त गरे।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। पत्र पढेर सुनाउँदै उनले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी खाद्य सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन थाइल्यान्ड गएकाले मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सम्हाल्ने गरी तोकिएको जानकारी मुख्यसचिवमार्फत आएको उल्लेख गरेका थिए।