नेप्से परिसूचक २४ अंकले घट्यो, करोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा कायम भएको हो।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन बजार परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा कायम भएको हो। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

यस दिन कुल ३१४ कम्पनीका दुई करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर एक लाख २१ हजार ५५१ पटक खरिदबिक्री भए। यसबाट ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार नौ अर्ब आठ करोड ५८ लाख  रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबै समूहका उपसूचक राताम्मे देखिएका छन्। सबैभन्दा बढी व्यापार समूह २.४७ प्रतिशतले घटेको छ। यस्तै, बैंकिङ ०.५०, विकास बैंक १.१२, वित्त ०.९३, होटल तथा पर्यटन ०.९६ र जलविद्युत् समूहको उपसूचक १.३४ प्रतिशतले घटेको छ। 
लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन तथा प्रशोधन १.०१, लघुवित्त १.०६, म्युचुअल फन्ड ०.२६ र निर्जीवन बीमा ०.३४ प्रतिशतले ओरालो लागेका छन्। अन्य समूहको उपसूचकमा पनि १.१२ प्रतिशतको गिरावट आएको छ।

यस दिनको कारोबारमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतले कमाएका छन्। यता, पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा यस दिन ङाग्दी ग्रुपको सबैभन्दा धेरै ८५ करोड ४४ लाख ५६ हजार ६७५ रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसैगरी, शेयर संख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को २२ लाख ८९ हजार ४६० कित्ता किनबेच भएको छ।