अस्पतालमा क्षेप्यास्त्र प्रहारपछि इजरायलले इरानी नेतालाई दियो ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी

इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट २०० भन्दा बढी मानिस घाइते भएपछि इजरायलले इरानी सर्वोच्च नेतालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।

तस्वीर : एपी

इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट अस्पताल र आवासीय भवनमा क्षति पुगेपछि इजरायलले इरानी सर्वोच्च नेतालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।

इरानी क्षेप्यास्त्र आक्रमणबाट दक्षिणी इजरायलको मुख्य अस्पताल र तेल अभिभ नजिकका आवासीय भवनमा क्षति पुग्दा २०० भन्दा बढी घाइते भएका छन्। इजरायलले जवाफमा इरानको आणविक कार्यक्रमअन्तर्गतको एउटा ‘हेभी वाटर रिएक्टर’मा पनि आक्रमण गरेको छ।

इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार, इरानी क्षेप्यास्त्र हमलाबाट कम्तीमा २४० जना घाइते भएका छन्। तीमध्ये चार जना गम्भीर छन्। दक्षिणी शहर बेर्शेबाको सोरोका मेडिकल सेन्टरमा पनि ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

आक्रमणपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई दोषी ठहराउँदै भने, “सेनालाई निर्देशन दिइएको छ र उसलाई राम्ररी थाहा छ कि आफ्ना सबै लक्ष्य प्राप्तीका लागि यो मानिस (खामेनी) बिल्कुलै अस्तित्वमा रहनु हुँदैन।” यस हप्ता अमेरिकी अधिकारीले राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई मार्ने इजरायली योजनामाथि ‘भिटो’ लगाएको बताएका थिए। पछि ट्रम्पले ‘कम्तीमा अहिलेका लागि’ उनलाई मार्ने कुनै योजना नभएको बताएका थिए।

इरानको बृहत् आणविक कार्यक्रममाथि इजरायलको यो पछिल्लो आक्रमण हो। यसअघि इजरायलले इरानको ‘अराक हेभी वाटर रिएक्टर’लाई निशाना बनाएको थियो। यो द्वन्द्व गत शुक्रबार इजरायलको आकस्मिक रूपमा हवाई हमलाबाट शुरू भएको हो। यो आक्रमणमा इरानी वरिष्ठ अधिकारीहरू र आणविक वैज्ञानिक लगायतलाई लक्षित गरिएको थियो।

वाशिङ्टनस्थित एक इरानी मानव अधिकार समूहले इरानमा कम्तीमा ६३९ जनाको मृत्यु भएको जनाएको छ। ज्यान गुमाउनेमध्ये २६३ नागरिक छन्। यसमा एक हजार ३०० भन्दा बढी घाइते भएका छन्। बदलामा इरानले ४०० भन्दा बढी क्षेप्यास्त्र र सयौँ ड्रोन प्रहार गरेको छ। आक्रमणबाट इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्।

यसैबीच, एक इजरायली सैन्य अधिकारीले इरानले बिहीबार ‘मल्टी-वारहेड’ क्षेप्यास्त्र प्रयोग गरी आक्रमण बताएका छन्। ती अधिकारीले सैन्य नियमानुसार नाम नखुलाउने शर्तमा समाचार संस्था एपीलाई यो जानकारी दिएका हुन्। यसको तत्काल कुनै स्वतन्त्र विश्लेषण उपलब्ध नभएको तर इरानले विगतमा यस्ता हतियार विकास गरिरहेको संकेत दिएको भनी एपीले लेखेको छ।

‘मल्टी-वारहेड’ क्षेप्यास्त्रले भने इजरायली रक्षा प्रणालीका लागि नयाँ चुनौती थपेको छ। मल्टी-वारहेड क्षेप्यास्त्रले इजरायलको आइरन डोम जस्ता हवाई रक्षा प्रणालीलाई एउटै वारहेड ट्र्याक गर्नुभन्दा बढी चुनौती दिन्छ।

दुई चिकित्सकले एसोसिएटेड प्रेसलाई बताएअनुसार एयर रेड साइरन बजेको लगभग तुरुन्तै क्षेप्यास्त्र प्रहार भएको थियो। जसको सुरक्षित कोठाबाट पनि सुन्न सकिने गरी ठूलो विस्फोट आवाज आएको थियो।

आक्रमणबाट अस्पतालको पुरानो शल्यक्रिया भवनमा बढी परेको बताइएको छ। यद्यपि यो भवनलाई हालैका दिनमा खाली गरिएको थियो। आक्रमणपछि, मेडिकल सेवा जीवन-जोखिममा रहेका बिरामीबाहेक सबैका लागि बन्द गरिएको थियो। सोरोका अस्पतालमा एक हजारभन्दा बढी शय्या छन्। यो अस्पतालले इजरायलको दक्षिण क्षेत्रका लगभग १० लाख बासिन्दालाई सेवा प्रदान गर्दछ। अस्पतालमा भएको आक्रमणबाट कुनै गम्भीर चोटपटक लागेको छैन।

इजरायलका प्रधानमन्त्री बन्जामिन नेतन्याहुले आक्रमणको निन्दा गर्दै जवाफ दिने वाचा गर्दै भने, “हामी तेहरानका अत्याचारीहरूबाट पूरै मूल्य असुल गर्ने छौँ।”