धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको समाचार हटाउन माग गरिएको निवेदन खारेज

काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निवेदन खारेज गरिदिएको छ।

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निषेधाज्ञा निवेदन खारेज गरिदिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

अध्यक्ष श्रेष्ठले ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित आफ्ना बारेका समाचार हटाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए।

यसअघि अदालतले ती समाचार हटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर अदालतका सूचना अधिकारी श्रेष्ठका अनुसार बिहीबार निवेदन नै खारेज भएसँगै अब ती समाचार हटाउनुपर्ने छैन।