इरान–इजरायल युद्ध रोक्न कूटनीतिक समाधानका लागि युरोपेली नेता एकजुट

इरान–इजरायलबीच जारी युद्ध रोक्ने प्रयासअनुरूप युरोपेली मुलुकका नेताहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता शुरू गरेका छन्।

काठमाडाैँ– इरान–इजरायलबीच जारी युद्ध रोक्ने प्रयासअनुरूप युरोपेली मुलुकका नेताहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता शुरू गरेका छन्। इरानसँगको वार्तामा युरोपेली नेताहरूले कूटनीतिक समाधानका लागि अवसरको ढोका खोल्ने बारेमा छलफल गरेका हुन्।

इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका उच्च कूटनीतिज्ञले युद्धको ‘कूटनीतिक समाधान’ दिन चाहेको बताएका छन्। वार्ताअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वार्तामा फर्कन ‘प्राथमिकता दिनु आवश्यक’ भएको र युरोपेली शक्तिराष्ट्रहरूले इरानलाई ‘कूटनीतिक समाधान’ दिने बताएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्री तथा युरोपेली संघका उच्च कूटनीतिज्ञले तनाव कम गर्न आग्रह गरेका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले कूटनीतिक समाधान खोज्नका लागि आगामी केही दिन पहल गरिने बताएका छन्।

इजरायलले वार्तामा इरानसँग ’दृढ अडान’ अपनाउन युरोपेली राष्ट्रहरूलाई दबाब दिँदै आफू उक्त बैठकमा सहभागी नहुने बताएको छ।

“हामी आशा गर्दछौँ, युरोपेली विदेश मन्त्रीहरूले आणविक कार्यक्रम पूर्ण रूपमा फिर्ता लिन, ब्यालेस्टिक क्षेप्यास्त्र शस्त्रागार र कार्यक्रमलाई अन्त्य गर्न, इरानको क्षेत्रीय आतंकवादी गतिविधिहरू अन्त्य गर्न माग गर्नेछन्,”  जेनेभाका लागि इजरायली राजदूत डेनियल मेरोनले पत्रकारहरूसँग भने।

जर्मन पत्रिका बिल्डलाई दिएको अन्तर्वार्तामा इजरायलका उच्च कूटनीतिज्ञ गिदोन सारले आफू इरानसँगको कूटनीतिमा विश्वास नगर्ने बताएका छन्। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र प्रमुख शक्तिराष्ट्रबीच भएको आणविक सम्झौता त्याग्ने निर्णयलाई समर्थन गरेका सारले भने, “अहिलेसम्मका सबै कूटनीतिक प्रयास असफल भएका छन्।”

यसअघि संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्सँग कुरा गर्दै अराघचीले इरान र अमेरिकाबीच आणविक वार्ता भइरहेका बेला इजरायलले सैन्य कारबाही गरेको भन्दै निन्दा गरेका थिए। उनको भनाइ थियो, “जारी कुटनीतिक प्रक्रियाका बीच हामीमाथि आक्रमण भएको हो।”

अघिल्लो शुक्रबार इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारलक्षित आक्रमण गरेपछि दुई देशबीच शुरू भएको हवाई आक्रमणले एक साता पूरा गरिसकेको छ। इजरायली आक्रमणले इरानमा ५०० जनाभन्दा धेरैको मृत्यु भएको छ भने इरानी आक्रमणमा परेर इजरायलमा २५ जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुवै पक्षतर्फ सयाैँको संख्यामा घाइते भएका छन्।

इरानी राजधानी र अन्य शहरमा शुक्रबार साप्ताहिक प्रार्थनापछि हजारौं मानिस इजरायलविरुद्ध प्रदर्शनमा सामेल भएका थिए र आफ्ना नेताहरूको समर्थनमा नाराबाजी गरेका थिए। सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई संकेत गर्दै एक प्रदर्शनकारीको ब्यानरमा लेखिएको थियो, “म मेरो नेताको लागि आफ्नो जीवन बलिदान गर्नेछु।”

द्वन्द्व चर्किएपछि बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको बताएको छ भने स्विट्जरल्यान्डले आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

यो पनि: नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा सरकार