बागलुङमा १५ वर्षदेखि आयोजना अलपत्र, गाउँभर खानेपानी समस्या

गाउँमा २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना शुरू भएको थियो। घिनसिङ खोलाबाट लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अहिलेसम्म पूरा भएको छैन।

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना शुरू भएको साढे एक दशक बित्यो। तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन। 

आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्। स्थानीयको खानेपानी समस्या समाधानका लागि २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना शुरू भएको थियो। दुई किलोमिटर टाढा घिनसिङ खोलाबाट मौरीभिर सम्मो भन्ने ठाउँमा लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अधुरै छ। स्थानीयले खानेपानीका लागि दिनहुँ लाइनमा बस्नु पर्ने बाध्यता छ। 

सरकारले अपर्याप्त बजेट विनियोजन गर्दा कामा ढिलासुस्ती उनीहरूको भनाइ छ। २०७२ सालमा उक्त खानेपानी योजना प्रदेश सरकारको जिम्मेवारीमा आएको छ। प्रदेश सरकारले पुनः डिजाइन गरेर काम गर्दै आएको छ। पहिले निर्माण भएको रिजर्भ ट्यांकी र सार्वजनिक धारा अहिले काम नलाग्ने भएका छन्। यहाँको झन्डै १०० घरधुरीमा धारा निर्माण भएका छन्। 

घरमा धारा भए पनि पर्याप्त पानी नआउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। सिसाखानीको बाघखोरमा रिजर्भ ट्यांकी निर्माण भएपछि मात्रै सहज रूपमा पानी वितरण गर्न सकिने ओखरगैँडा खानेपानी आयोजनाका अध्यक्ष दिलबहादुर पुनले बताए। एउटा ४५ हजार लिटर र अर्को २० हजार लिटरको ट्यांकी निर्माण गरेपछि मात्र खानेपानी समस्या समाधान हुने उनको भनाइ छ।

“आयोजनाका लागि वर्षमा कहिले पाँच लाख, अहिले १० लाख बजेट आउँछ, त्यो बजेटले अपुरो काम हुन्छ, बजेट अभावका कारण अहिलेसम्म यो खानेपानी आयोजना सम्पन्न हुन सकेन, राज्यको ध्यान नगएको महसुस भएको छ,” पुनले भने। करिब ६० लाख बजेट आए मात्रै आयोजना सम्पन्न हुने अध्यक्ष पुनको भनाइ छ। 

वर्षौंदेखिको आयोजना पूरा नहुँदा अहिले पनि पानी बोकेर उपभोग गर्नुपरेको स्थानीय किशोर काउचा घर्तीले बताए। अहिले बस्तीभन्दा झन्डै एक किलोमिटर तल रहेको रिजर्भ ट्यांकीबाट ओखरबोटमा रहेको २० हजार लिटरको ट्यांकीमा झारेर अस्थायी रूपमा पानी वितरण गरिएको छ। बिहान दुई घण्टा र साँझ दुई घण्टा पानी तानेर वितरण भइरहेको छ। पानी पर्याप्त नहुँदा सरसफाइ गर्न, बस्तुभाउलाई खुवाउन र सागसब्जीखेती गर्न समस्या भएको घर्तीको भनाइ छ। 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सागर अधिकारीले आगामी वर्ष हरेक घरमा पानी पुर्‍याउने बताए।