‘चोरिएका मूर्ति घरफिर्तीको अहिलेको प्रयास टिप अफ द आइसबर्ग मात्रै हो’

‘फर्पिङबाट हराएको सूर्यमूर्ति नेपालको भएको यथेष्ट प्रमाणसहितको औपचारिक पत्र भारत सरकारको सम्बन्धित निकायमा आउनुपर्‍यो। जसको जवाफ भारत सरकारले ३० दिनभित्र दिनैपर्ने हुन्छ।’

तस्वीर सौजन्य : विकास रौनियार

कला–सम्पदा संरक्षण तथा प्रवर्द्धनमा स्थापित ‘इन्डिया प्राइड प्रोजेक्ट’का सहसंस्थापक विजय कुमार पुरातात्त्विक सम्पदा जर्गेना अभियन्ता हुन्। विशेषतः भारतबाट चोरी/पैठारी भएर विश्वका विभिन्न संग्रहालय वा निजी संकलककहाँ पुगेका मूर्ति तथा कलावस्तु फिर्ता ल्याउन २० वर्षदेखि काम गरिरहेको प्रोजेक्टअन्तर्गत विजयकै तदारुकतामा एक हजारभन्दा बढी यस्ता सम्पदा भारत फिर्ता भइसकेका छन्। गत साता ललितपुरमा सम्पन्न ‘इन्टरनेसनल कन्फरेन्स अन रिकभरी अफ कल्चरल हेरिटेज’मा सहभागी हुन आएका विजय कुमारसँग उकालोकर्मी देवेन्द्र भट्टराई र प्रबिता श्रेष्ठले गरेको कुराकानी:

भारतबाट हराएका/चोरिएका मूर्तिको घरफिर्तीमा सक्रिय इन्डिया प्राइड प्रोजेक्टको स्थिति कस्तो छ? 
हो, गत २० वर्षदेखि भारतबाट हराएका, चोरिएका मूर्ति पहिचान र घरफिर्ती अभियानमा हामी काम गरिरहेका छौँ। इन्डिया प्राइड प्रोजेक्टको नाम दिएर अघि बढेको यो अभियानमा हामी भारतीय नागरिकको तहबाट क्राउड–सोर्सिङमार्फत स्रोत जुटाउन थालेका हौँ। हामी कुनै प्रकारको पुरस्कार, फन्ड, अवार्ड वा रिवार्ड लिँदैनौँ। यो नितान्त जनस्तरको पहलमा सञ्चालन भइरहेको परियोजना हो। कतै परनिर्भर नभइरहेका कारण पनि हामीलाई निष्पक्ष अनि स्वतन्त्र रूपमा काम गर्न सजिलो भएको छ। 

जनस्तरको आधार हामीसँग भएकाले आम मानिस जोकोहीले पनि आफ्नो स्थानबाट हराएका अथवा चोरी भएका मूर्तिबारे जानकारी गराउन सक्छ, रिपोर्ट गर्न सक्छ। यसबाहेक, अन्तर्राष्ट्रिय नियम र कानूनको पक्षमा पनि जानकार हुने तथा सरोकारसम्बद्ध सबै तहमा अवगत गराउने काम हामीले गरिरहेका छौँ। कारण, मूर्तिफिर्ताको पाटो भनेको कानूनी र कूटनीतिक आधारमा सबैभन्दा बढी निर्भर रहन्छ। 

यो क्रममा हामीले दक्षिण एशियाबाट हुने मूर्ति तस्करीका केही सञ्जाललाई पहिचान गर्न सफल भएका थियौँ। त्यही सञ्जालका सुभाष कपुर (भारतीय–अमेरिकी आर्ट स्मगलर) र डग्लस ल्याचफर्ड (ब्रिटिस आर्ट–डिलर) जस्ता कहलिएका एजेन्टमार्फत बेचिएका केही मूर्ति फिर्ता ल्याउन पनि सफल भएका छौँ। अमेरिकाबाट पछिल्लोपटक नेपालमा फिर्ता आएका ११ वटा मूर्ति सुभाष कपुरमार्फत नै यहाँबाट (खरिद) पैठारी भएका थिए। कतिपय अवस्थामा भारतीय कलावस्तुको चोरीनिकासीका लागि नेपाल ट्रान्जिट–प्वाइन्टका रूपमा प्रयोग हुने हामीले पत्तो लगाएका छौँ। नेपाल हुँदै ती कलावस्तु धेरैजसो हङकङ जाने गरेका छन्। मूर्ति चोरी–बिक्रीको यो जालो एकल नभई सामूहिक हुने गरेको हामीले पाएका छौँ जो एकअर्कासँग अविच्छिन्न र सम्बन्धित हुन्छन्। 

समग्रमा भन्दा इन्डिया प्राइड प्रोजेक्टले मूर्ति फिर्ताको अभियानमा काम गरिरहेको छ। चाहे त्यो मूर्ति फिर्ता होस् अथवा हराएका मूर्तिको रिपोर्ट गर्न परोस्– कानूनी पाटोको समग्र पक्षमा हामी काम गर्छौँ। पछिल्लो वर्षमा नेपालमा सञ्चालित सम्पदा पुनर्स्थापना अभियान (नेपाल हेरिटेज रिकभरी क्याम्पेन)मा पनि हामी जोडिएका छौँ। मूर्ति सम्पदाको पहिचान र प्रमाणीकरणमा आपसी संयन्त्र र सञ्जालमार्फत सूचना तथा अन्य विधि–प्रक्रिया आदानप्रदान पनि जरुरी भएकाले हाम्रो सहकार्य जारी छ।

इन्डिया प्राइड प्रोजेक्टले अहिलेसम्म कति मूर्ति भारतमा फिर्ता ल्याउन सफल भएको छ?
इतिहासको कुरा गर्दा, विभिन्न प्रयास र अभियानमार्फत सन् १९७० देखि २००० सम्ममा १९ वटा मूर्ति घरफिर्ता आएका थिए। सन् २००० देखि २०१२ सम्म यो संख्या शून्य रह्यो भने, सन् २०१२ देखि हालसम्म ६३८ मूर्ति विभिन्न मुलुकबाट फिर्ता ल्याउन सफल भएका छौँ। अहिलेको तथ्यांकमा करिब एक हजार ८९० मूर्ति विभिन्न देशका भारतीय दूतावासअन्तर्गत पहिचानमा आएका वा संकलित अवस्थामा छन्। यसमध्ये सबैभन्दा बढी मूर्ति अमेरिकामा रहेका छन्।

कला–सम्पदा फिर्ताको यस्ता अभियानमा भारतमा सरकारी भूमिका, तदारुकता कस्तो रहेको छ? 
पक्कै पनि सरकारबाट सहयोग चाहिन्छ नै। हामीलाई आवश्यक पर्ने सिफारिस र न्यायिक/कूटनीतिक प्रक्रियाका विषयमा सरकारको सहयोग निरन्तर छ। सरकारी समन्वय र पहलमा अझै धेरै काम गर्न सकिन्थ्यो होला तर, ब्युरोक्रेसीको पद्धति र अवस्थाले पनि कार्यसम्पादनमा ढिलाइ हुने गरेको छ।

यही परिस्थिति नेपालमा पनि मैले देखेको छु। यसमा कार्यप्रगति र गतिशीलताका निम्ति विज्ञको छुट्टै समूह चाहिन्छ। छुट्टै प्रहरीको ‘स्पेसल टास्क फोर्स’ चाहिन्छ, जो युवा हुन् र स्वतःस्फूर्त रूपमा आफ्ना सम्पदाको संरक्षण–संवर्द्धनमा लाग्न चाहने हुन्। अवकाशप्राप्त पूर्वकर्मचारीको भीडले मात्रै काम हुँदैन। एकैसाथ, बलियो कानूनी समूह र अभिलेख (रेकर्ड पद्धति) हुनुपर्छ। प्राविधिक पक्ष पनि उत्तिकै बलियो हुनैपर्छ। 

इटालीजस्ता देशले यस्ता विषयमा प्राविधिक तालिम दिइरहेको हुन्छ। अर्कातर्फ, मुलुकभित्रै पनि मन्दिर मूर्तिका चोरी विषयमा कडा कानूनी व्यवस्था हुनुपर्छ। चोरिएका मूर्तिको मूल्य लाखौँ तोकिँदा सो अपराधको मुल्य कसरी तोकिनु पर्ला? ‘हेरिटेज क्राइम’लाई गम्भीरतापूर्वक हेरिनु पर्छ। (कुनै सामान्य चोरी वा लुटपाटको कानूनी दफामा सम्पदाको चोरीलाई जोडिनु हुन्न।)

आस्था, श्रद्धापूर्वक हेरिने हाम्रो मूर्ति, सम्पदा र कलावस्तु कसरी ‘कमोडिटी’ अथवा पैसाको स्रोत बन्न पुगे?
मूलतः भारतमा बेलायतीको प्रवेश व्यापार र बजारको उद्देश्यले भएको थियो। त्यतिबेला बेलायतको तुलनामा भारत निकै धनी थियो। आधिपत्य जमाउने क्रममा ३०० वर्षको अवधिमा बेलायतीलाई भारतीय कलाकृति संकलनको बानी बढेर गयो। उनीहरूका आँखाले मूर्ति, कलाकौशल वा यस्तो सम्पदाजन्य भव्यतामा श्रद्धा देखेनन्, बरु पैसा मात्रै देखे। अझ शुरूआती समयमा उनीहरूले कलाकृति समेत मानेनन्, ठानेनन्। आफूले उपनिवेश बनाएको देशमा देवीदेवताका मूर्ति अरूलाई देखाउने एउटा अहम् र सरह विकसित भयो। हाम्रा कलाकृति उनीहरूका लागि सो–पिस अथवा केवल प्रदर्शनीका सामग्री बन्न थाले। 

जब बिस्तारै उनीहरूले यहाँका कलाकृतिको महत्त्व बुझ्दै गए, तब विश्वका धनीमानीसम्म यस्ता वस्तुको पहुँच चुलिँदै गएको थियो। त्यस्ता धनीमानीलाई आफूले किनेको मूर्ति अवैध रूपमा चोरीपैठारी हुनु वा ओसारपसार हुनुले केही फरक पारेन। कारण, उनीहरू त्यस्ता सयौँ मूर्ति सजिलै किनिरहेका हुन्थे। 

यो पनि: फर्पिङबाट चोरिएको पुरातात्त्विक सूर्यमूर्ति नयाँ दिल्लीको ‘ओल्ड फोर्ट’ म्युजियममा

उनीहरूको लागि यस्ता मूर्ति र कलावस्तुसमेत कुनै कार, गाडीजस्तै लक्जरी–पिस किनेसरह बनेको थियो। यस्ता लक्जरी सामान केबल ठूलो बंगलाका बगैँचामा राख्ने वा कोठामा सजाउने सामग्री मात्रै बन्न पुगे। कलाप्रतिको मायाभन्दा पनि ढोँग बढी थियो त्यो बेला। पैसाका भरमा जन्मिएका ढोँगीहरू निकै थिए। त्यही कुरा पश्चिमा मुलुकमा क्रमशः फेसनको स्वरूपमा बढ्दै गयो। अनि, जानेर वा नजानेरै पश्चिमा मुलुकले हाम्रो आस्था र विश्वासलाई खरिदबिक्रीको वस्तु बनाइरहे। यो क्रम सबैभन्दा बढी सन् ७० को दशकमा चलेको थियो।

भर्खरै ललितपुरमा सम्पन्न भएको कला–सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको अनुभव कस्तो रह्यो? 
शुरू म भन्न चाहन्छु, आउने जो कोहीका लागि नेपाल दोस्रो घर हो। कारण, मिल्दोजुल्दो सांस्कृतिक चालचलन, परम्परा, मान्यताले यहाँ आउँदा अन्य कुनै फरक र टाढाको देशमा गएजस्तो भान हुन दिँदैन। काठमाडौँ, पाटनका कुनाकाप्चामा हिँड्दा सधैँ जीवन्त महसुस भइरहेको हुन्छ। यहाँका देवीदेवताका मूर्ति र प्रतिमा यिनै कुनाकाप्चामा यत्रतत्र सजिएका छन्।

म तमिलनाडुमा जन्मिएको, हुर्किएको हुँ, जहाँ ४२ हजारभन्दा बढी मन्दिर छन्। तर, काठमाडौँ उपत्यकामा त त्योभन्दा बढी संख्यामा मूर्ति सडक छेउछाउ र यत्रतत्र फैलिएको देख्न सकिन्छ। तर, यसपटक यहाँ घुमफिर गर्दा दुःख पनि लाग्छ। किनकि यहाँका देवीदेवता फलामे बारमा घेरिएका छन्, तारजालीमा छन्। यस्ता मूर्ति चोर्ने चोरलाई थुन्नु पर्ने बेलामा हामी सुरक्षाका लागि तीनै मूर्तिलाई फलामे बारमा थुनिरहेका छौँ। 

नेपाल हेरिटेज रिकभरी क्याम्पेनले सम्पदाजन्य यही सरोकारमा केन्द्रित रहेर सञ्चालनमा ल्याएको अन्तर्राष्ट्रिय सम्मेलन एउटा मानक अभियानझैँ बनेको छ। आफ्नो सम्पदाबारेको सूचना, सचेतना र घरफिर्ती अभियानको कामलाई पक्कै पनि यस्तो अभियानले मद्दत गर्छ नै। 

यसअघि, पाटनमा लक्ष्मी नारायणको मूर्ति फिर्ता हुँदा पनि म यता आएको थिएँ। सो मूर्तिलाई खटमा राख्ने सौभाग्य मैले पाएको थिएँ। समुदायबाट हराएको लक्ष्मीनारायणको मूर्ति समुदायमा फर्किनु सशक्त उदाहरण थियो, हाम्रो पहिचानको पुनर्स्थापना अभियानसमेत थियो त्यो। 

यसपटक सम्मेलनले फिर्ता भएका मूर्तिलाई समुदायमा पुनर्स्थापनाको विषयमा पनि जोड दिएको छ। यो अर्को महत्त्वपूर्ण पक्ष हो। नेपाल–भारतजस्तो देशमा अमूर्त सम्पदाको रूपमा रहेको पूजाआजा नै देवीदेवतासँग मानिसलाई जोड्ने कडी हो, दैनिकी हो। ती संग्रहालयको कोठामा थन्किएर बस्नु हुँदैन, यी सामग्री भनेको केवल ढुंगा वा काठ मात्रै होइन। उनीहरू त देवताका प्रतिरूप हुन्, प्राण प्रतिष्ठा गरिएका देवीदेवता हुन्। 

सम्मेलनमा विभिन्न देशका विज्ञ उपस्थिति थिए। मूर्ति फिर्ता, कूटनीतिलगायत विषयमा विचारविमर्श अनि बहस पनि भए। तपाईंको विचारमा मूर्ति चोरीपैठारी र फिर्तीमा हामी (नेपाल/भारत) कहाँ रहेछौँ?
मलाई लाग्छ, चोरी भएका मूर्ति घरफिर्तीमा हामी शुरूआती चरणमा मात्रै छौँ। अहिले जे जति भइरहेको छ यो त केवल ‘टिप अफ द आइसबर्ग’ अर्थात् थालनी मात्रै हो। कम्बोडियाजस्ता देशले कानूनीदेखि अन्य पक्षमा उचित प्रबन्धसहित मूर्ति घरफिर्तामा राम्रो सफलता हासिल गरेका छन्। यो हामीले पनि सिक्नुपर्छ।

यद्यपि, कम्बोडियाबाट मूर्ति चोरी भएका होइनन्। त्यहाँ अवैधानिक रूपमा उत्खनन भएर चोरीपैठारी भएका हुन्। उस्तै सुनिए पनि, यसको अर्थ फरक लाग्छ। नेपाल, भारत, तिब्बत भने अझै पनि मूर्ति चोरीपैठारीमा सक्रिय क्षेत्र हुन्, हाम्रो सावधानी यस अर्थमा अझ बढी आवश्यक छ। 

सन् ८० को दशकमा नेपालको फर्पिङबाट हराएको सूर्यमूर्ति भारतको लाल किल्लास्थित ओल्डफर्ड संग्रहालयमा छ। यस विषयमा हामीले पटक–पटक ध्यानाकर्षण गराएका छौँ। तर, सुनुवाइ हुन सकेको छैन। इन्डिया प्राइड प्रोजेक्टले यो पक्षमा आवाज उठाउन सक्छ कि? 
नेपाल र भारत दुवै देश युनेस्कोको १९७० को सम्पदा संरक्षण र अधिकारसम्बन्धी अभिसन्धिका हस्ताक्षरकर्ता हुन्। यसअनुसार कुनै पनि देशमा भएको कलावस्तु अर्को कुनै देशको भएमा प्रमाणसहित फिर्ता लैजान सक्ने प्रावधान छ। यसमा अरू केही समस्या छैन।

फर्पिङबाट हराएको सूर्यमूर्ति नेपालको भएको यथेष्ट प्रमाणसहितको औपचारिक पत्र भारत सरकारको सम्बन्धित निकायमा आउनु पर्‍यो। जसको जवाफ भारत सरकारले ३० दिन भित्रमा दिनैपर्ने हुन्छ। यदि भारतले सो मूर्ति आफ्नो भएको प्रमाण गर्न नसकेमा र नेपालको प्रमाण यथेष्ट भएमा उक्त मूर्ति नेपालले जफत गर्न सक्छ। तर, मैले अहिलेसम्म नेपालबाट हराएको सूर्यमूर्तिबारे अधिकार दाबीसहित कुनै त्यस्तो पत्र आएको थाहा पाएको छैन।

यो जगतमा गाँस–बास–कपासका अनेक मुद्दा थाती रहेकै बेला कला सम्पदाका विषयमा ध्यान दिनु कतिको उचित होला? अझ नयाँ पुस्ता यसमा इच्छुक देखिन्न नि? 
पक्कै पनि हामीमाझ व्याप्त भोकमरी, गरिबी र मानव अधिकार नै प्राथमिकताका विषय हुन्। यो एउटा नियमित सर्कल हो, चक्र हो। भारतमै पनि भोकमरी, जात व्यवस्था, गरिबी आदि चर्को रूपमा छँदै छ। कलासंस्कृति भनेको तहगत रूपमा अरू आवश्यकताको परिपूर्ति भएसँगै बढ्दै जाने सरोकार हो। उदाहरणका लागि, इतिहासमा कुनै परिवार अथवा समाजको पहिलो पुस्ताले आफ्नो दैनिकी, जीविका चलाउन सक्नु, गाँसबास कपासमा ध्यान दिन सक्नु ठूलो उपलब्धि थियो। त्यसपछि दोस्रो पुस्ताले आधारभूत आवश्यकताबाट माथि उठेर भविष्यका लागि बचत र सुरक्षामा ध्यान दिन्छ नै। जब यी सबै परिपूर्ति हुन्छ, तब तेस्रो पुस्ताले आफ्नो जरा (पहिचान, कलासंस्कृति, परम्परा) आदि खोज्न थालिहाल्छ। यस अवस्थामा कला सम्पदाका महत्त्व अझ बढ्दै जान्छ नै। यस सरोकारमा नयाँ पुस्ता आफ्नो पहिचान, कलाप्रति अझ रुचिकर भएको मैले देखेको छु। र, नयाँ पुस्तामै म आशावादी पनि छु।

स्वच्छन्द रूपमा भइरहेका मूर्ति फिर्ताको अभियानमा राजनीतिक हस्तक्षेप वा विभाजन कत्तिको पाउनुभएको छ? 
हाम्रो एक मात्र उद्देश्य हराएका, चोरिएका मूर्ति फिर्ता गर्नु हो। कोही राजनीतिज्ञ यसलाई उत्सवको रूपमा मनाउन चाहन्छन् भने त्यसले त्यति क्षति गर्दैन जस्तो लाग्छ। चाहे त्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा कम्बोडियाका प्रधानमन्त्रीले मूर्तिसहित फोटो खिच्दा, रमाउनु आपत्तिजनक नहोला। हाम्रो लागि यो पब्लिसिटीको विषय पनि हो। भनिन्छ नि– एनी पब्लिसिटी इज अ गुड पब्लिसिटी!

राजनीतिज्ञले पनि यो पब्लिसिटीलाई प्रयोग गर्न सक्छन्, यसमा अन्यथा मान्नु हुँदैन। यसले कसैलाई हानी गर्न जस्तो मलाई लाग्दैन। हाम्रो तमिलमा एउटा भनाइ छ, ‘रथ तान्न २०० भन्दा बढी मान्छे चाहिँदैन। तर, रथ तान्ने बेलामा पूरै शहर आउँछ। अनि हामीलाई थाहा हुँदैन को रथ तानिरहेको छ वा छैन। तैपनि रथ त अघि बढिरहेकै हुन्छ।’