प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षीका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

कहिले नीलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षीको पालो आउँदा भित्रिने गरेको छ। 

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ।  सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन्।

यहाँ रोचक पक्ष के छ भने, विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि सो दलका सांसद पुनः बैठकमा आएका छन्।

कहिले नीलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रिने गरेको छ। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा वेल अगाडि उभिएको र सत्ता पक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको बताए।

“सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ, हामी संसद् भवनमै छौँ, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ”, उनले भने।