भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

दूतावासका अनुसार उद्धार गरिएका युवालाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।

काठमाडौँ– आकर्षक जागिरको प्रलोभनमा पारी भारत पुर्‍याइ बन्धक बनाइका ३५ जना नेपाली युवाको उद्धार भएको छ।

भारतको उत्तराखण्डमा आकर्षक जागिरको प्रलोभनमा पारी बन्धक बनाई ठगीमा परेका ३५ जनाको नयाँ दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेको हो।

दूतावासले भारत सरकारको परराष्ट्र मन्त्रालय र उत्तराखण्ड प्रहरी तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा ती युवाहरूलाई उद्धार गर्न सकिएको जनाएको छ।

दूतावासका अनुसार जेठ ५ गते ती युवालाई सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएका युवालाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो। “उद्धार गरिएका व्यक्तिहरूलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

घटनामा संलग्न केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ। साथै, उत्तराखण्डका अन्य स्थानमा बन्धक बनाइएका अन्य नेपाली युवाको खोजी तथा उद्धार कार्य जारी रहेको दूतावासले बताएको छ।