संगीत दिवसमा थारू कलाकारको प्रस्तुति, झुमे दर्शक

बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।

काठमाडौँ– विश्व संगीत दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा थारू कलाकारले मौलिक गीतमा प्रस्तुति दिएका छन्।

राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आ-आफ्नो ठाउँ विशेषका प्रस्तुति दिएका हुन्। कार्यक्रम उद्‌घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गरेका थिए।

कार्यक्रममा बोल्दै चौधरीले पहिचानका लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे। “'मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सांस्कृतिक क्रान्ति शुरू गरेँ। जब गणतन्त्र आयो, उनीहरूले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने। अनि म बाध्य भएर राजनीतिमा आउनु पर्‍यो,” उनले भने।

सो अवसरमा देशभरका थारू कलाकारले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिएका थिए। राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत कलाकारले आ-आफ्नो क्षेत्रका थारू मौलिक संस्कृति झल्‍कने प्रस्तुति दिएका थिए ।

कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मानसमेत गरिएको थियो।