एसीसी पुरुष यू१६: सिंगापुरमाथि नेपालको ६ विकेटको जित

सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका प्रशिद्ध जैसी ५५ रनमा अविजित रहे।

काठमाडौँ– एसीसी पुरुष यू१६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपाले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। 

नेपालका प्रशिद्ध जैसीले सर्वाधिक ५५ रनमा अविजित रहे। रौनक श्रीवास्तवले ४० तथा सूर्यांशु कोइराला र सिवांश बजगाईंले समान ९ रन जोडे। आकाश तेजाले ३ तथा युभान पाण्डेले १ विकेट लिए।

त्यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो। सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए।

त्यसैगरी, ओपनर आहान भुधानभामले ३८ रन जोडे भने अर्का ओपनर रोशन अरुनले ११ बनाउँदै आउट भए। नेपालका कप्तान विपिन शर्माले ४ विकेट लिए। त्यसैगरी  सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए।

एशियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ। नेपाल समूह ‘ए’मा रहेको छ। 

नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन्। समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार रहेका छन्।