अमरेशले ‘५ वटा जिल्लाबाहेक अरू भाडामा दिए हुन्छ’ भनेपछि संसद्‌मा विवाद

दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिए।

काठमाडौँ– सांसद अमरेशकुमार सिंहले पाँच वटा जसल्लाबाहेक अरू भाडामा दिए हुन्छ भनेपछि संसद्‌मा विवाद भएको छ। 

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा सांसद सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको बताएका थिए।  

“नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि चार-पाँच जिल्ला भाग्यमानी जिल्ला छन् त्यसलाई नेपालमा राखौँ बाँकी ७२ जिल्लालाई लिजमा दिऊँ अर्को देशलाई। अमेरिका, चाइना, भारतलाई दिऊँ। बजेट नै जाँदैन भने नेपालमा किन राख्ने? कर लिनका लागि मात्रै राख्ने?” उनको भनाइ थियो।  

उक्त भनाइप्रति नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए। सांसद सिंहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै बर्तौलाले संसद्‌को रेकर्डबाट हटाउन माग गरे। उक्त भनाइलाई कारबाहीको विषय बनाउनुपर्ने र उनलाई थप बोल्न दिन नहुने उनको भनाइ थियो। 

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका थिए। 

“वक्ता माननीय सदस्यले आशय जे भए पनि पाँच जिल्लाबाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नुभएको छ। त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसद्‍मा असंसदीय भाषा प्रयोग भयो। राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने निर्देशन गर्दछु।”

दलीय हिसाबले निर्देशन दिएको भन्दै सांसद सिंहले त्यसपछि सभामुख घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएका थिए। सभामुख घिमिरेले विषयमा बोल्न र नबोल्ने भए रोष्ट्रम छोडेर जान निर्देशन दिएका थिए। त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाए।

त्यसपछि सभामुख घिमिरेले सांसद सिंहको माइक काटिदिएका थिए।