नेप्से परिसूचक १.२५ प्रतिशत घटेर २५९५ को बिन्दुमा, ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर २५९५.९७ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– आइतबार पनि शेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन बजार परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ को विन्दुमा कायम भएको हो।

यो १.२५ प्रतिशतको गिरावट हो। आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।

यस दिन कुल ३१० कम्पनीका दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार ३०२ पटक खरिदबिक्री भए। यसबाट नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँ बराबरको करोबार भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार भने ११ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबै समूहका उपसूचक राताम्मे देखिएका छन्। सबैभन्दा बढी  होटल तथा पर्यटन ३.१३ प्रतिशतले घटेको छ।

त्यस्तै, बैंकिङ ०.८५, विकास बैंक ०.८८, वित्त १.०९, जलविद्युत् २.७८, लगानी ०.९८ र जीवन बीमाको उपसूचक १.०६ प्रतिशतले घटेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन १.०५, लघुवित्त १.१५, म्युचुअल फन्ड ०.३७, निर्जीवन बीमा ०.४८, अन्य ०.६१ र व्यापार समूहको उपसूचक ०.७१ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा जोशी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतले कमाएका छन्। यता, पियोर इनर्जीको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा यस दिन दोर्दी खोला जलविद्युत् सबैभन्दा धेरै २१ लाख ८३ हजार ८२२ कित्ता शेयर ७५ करोड ७३ लाख ९७ हजार ३७१ रुपैयाँमा किनबेच भयो।