इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

इलाम– इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। 

झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए। उनीहरूको झापास्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।