यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

काठमाडाैँ– देशभरको माैसममा सोमबार आंशिकदेखि साधारणतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो आइतबार राति काठमाडाैँसहित देशका अधिकांश भागमा वर्षा भएको थियो। काठमाडाैँमा भारी वर्षाको मापन गरिएको छ।

आज पनि पहाडी भू-भागको धेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, देशका उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।