४.७८ अंकले बढेर २६ सयको बिन्दुमाथि उक्लियो नेप्से परिसूचक

सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा उक्लिएको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से परिसूचक सोमबार ४.७८ अंकले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२८ अंकले बढेको छ।

यद्यपि आइतबारको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ। यस दिन कुल ३२५ कम्पनीको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको थियो।

बैंकिङ ०.१५, होटल तथा पर्यटन ०.९०, वित्त ०.७२, जलविद्युत् ०.४२, लगानी ०.३७, लघुवित्त ०.०१ र व्यापार समूहको उपसूचक २.२० प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक ०.०९, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.६१, म्युचुअल फन्ड ०.३४, निर्जीवन बीमा ०.२३ र अन्य समूहको उपसूचक ०.१९ प्रतिशतले घटेको छ। 

यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट र पञ्चकन्या माई हाइड्रो पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रो पावर कम्पनीको शेयर मूल्य यस दिन ३४.८० रुपैयाँले बढेर ३८३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, पञ्चकन्या माई हाइड्रोको शेयर मूल्य पनि ३४.०१ रुपैयाँले बढेर ३९५.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन वरुण हाइड्रो पावरको शेयर मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ। पाँचथर पावर कम्पनीको मूल्य ५.१८ प्रतिशत बढेको छ भने राधी जलविद्युत् कम्पनीको शेयर मूल्य ४.८६ प्रतिशतले बढेको छ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ। पियोर इनर्जी र दोर्दी खोला जलविद्युत्को शेयर मूल्य पनि क्रमशः ५.६८ प्रतिशत र ४.८९ प्रतिशतले घटेको छ।

राधी जलविद्युत् कम्पनी, बुटवल पावर कम्पनी, ङाग्दी ग्रुप पावर, सानीमा माई हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयर यस दिन सर्वाधिक माग भएको छ।