प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियारले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंक दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बराबरको बिगो माग दाबी गरिएको छ।

यसैगरी,  अस्पतालमा रहेको कुमारी बैंकका एक्स्टेन्सन काउन्टरको तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।