अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ

६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ परेकी छन्। सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ– ६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई सोमबार रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। 

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिए। 

अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झन्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो।

त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो। त्यसयता फरार रहेकी रोकालाई काठमाडौँको टोखाबाट असार ६ गते पक्राउ गरिएको थियो। अदालतमा पेश भएकी उनीविरुद्धको मुद्दामा आइतबार र सोमबार थुनछेक बहस भएको थियो।