दाहालको सत्ता रोहण अपेक्षित थिएन, अब कांग्रेस निर्माणमा जुट्नुपर्छ : शेखर कोइराला

नेता कोइरालाले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन अगाडि गम्भीर प्रश्न रहेको र त्यसको जवाफ दिनुपर्ने बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुष्पकमल दाहाल 'प्रचण्ड'को सत्तारोहण अपेक्षित नभएको बताएका छन्। नवनियुक्त प्रधानमन्त्री दाहाललाई सोमबार बधाई र शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

"संसद्को तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाइ नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु", उनले भनेका छन्, "संसद्‍बाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन। संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ।"

उनले सोमबार साँझ पछिल्लो परिवर्तित राजनीतिप्रति जारी दृष्टिकोणमा संसद्को ठूलो राजनीतिक शक्ति कांग्रेस विपक्षमा पुगेको, गठबन्धनको मुख्य ‘पार्टनर’ माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदाङ्गिएको उल्लेख गरेका छन्। उनले कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि बढ्नुपर्ने बताएका छन्।

"कांग्रेस संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ। गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ। हामी बीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ। अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन" उनले भनेका छन्।

उनले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन अगाडि गम्भीर प्रश्न रहेको र त्यसको जवाफ कांग्रेस नेता-कार्यकर्तामाझ दिनुपर्ने बताएका छन्।

गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या गरिएको र चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घटेको उल्लेख गर्दै संस्थापन पक्षप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टी-कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै अब कांग्रेस निर्माणको महाअभियानमा जुट्नुपर्ने बताए।

"कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात् आएको छ। यसबाट हामी निराश हुने छैनौँ। यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ। पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ। जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन", उनले भनेका छन्। सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ। उनले कांग्रेस सशक्तीकरणको अभियानमा जुट्नु पर्ने पनि बताए।