सिंहदरबारमा नवगठित मन्त्रिपरिषद्को बैठक

बैठकले सरकार निर्माणमा सहयोग गर्ने दलहरूलाई धन्यवाद दिनुका साथै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

काठमाडौँ– नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक शुरू भएको हो। बैठकले सरकार निर्माणमा सहयोग गर्ने दलहरूलाई धन्यवाद दिनुका साथै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।

नवनिुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री र चार जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए।

दाहालले विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री तथा अर्थ, नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात, रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरे‍का छन्। त्यस्तै, उनले ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई, अब्दुल खानलाई कार्यभार पछि तोकिने गरी मन्त्री नियुक्त गरेका छन्। अन्य मन्त्रालय भने दाहाल आफैँले राखेका छन्।