युद्धविराम गर्न इजरायल र इरान तयार

दुवै देशले ट्रम्पले गरेको युद्धविरामको प्रस्ताव स्वीकार गर्नुअघि मंगलबार बिहानसम्म नै एकअर्काविरुद्ध आक्रमणलाई जारी राखेका थिए। 

युद्धरत इजरायल र इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन्। यस युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्ने समाचार संस्था एपीले जनाएको छ। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न सहमत भएको बताएका छन्। नेतान्याहुले इजरायलको सुरक्षा क्याबिनेटलाई इरानविरुद्धको अपरेसनमा सबै युद्ध लक्ष्य हासिल गरेको बताएका छन्। “इजरायलले युद्धविरामको कुनै पनि उल्लंघनको कडा जवाफ दिनेछ,” उनले भने। 

इरानी राज्य टेलिभिजनले स्थानीय समयअनुसार बिहान ७ः३० बजे युद्धविराम लागू भएको बताएको छ। केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले देश हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए।

दुवै देशले सम्झौता स्वीकार गर्नुअघि मंगलबार बिहानसम्म नै एकअर्काविरुद्ध आक्रमणलाई जारी राखेका थिए। बिहान तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेको थियो। जसमा कम्तीमा चार जनाको मृत्यु भएको थियो। इजरायलले पनि बिहानसम्म इरानका विभिन्न स्थानलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो।(रासस/एपी)