झापामा हराएका बालकको २ दिनपछि शव फेला

झापाको कमल गाउँपालिका–१ मा दुई दिनअघि घरबाट हराएका १२ वर्षीय बालक सुसान शेर्पाको शव मंगलबार कृष्णखोला किनारमा फेला परेको छ।

झापा– कमल गाउँपालिका–१ स्थित कृष्णखोला किनारमा हराएका एक बालकको शव दुई दिनपछि फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, मंगलबार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई कृष्णखोलामा शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरका बालकको शव बगेर आएको सूचना प्राप्त भएको थियो। प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर शवको पहिचान गर्दा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान शेर्पा भएको खुलेको छ।

प्रहरीका अनुसार, सुसान असार ८ गते दिउँसो ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए। आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका बुबाले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए। यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।