दृष्टिन्यूज अनलाइनमा प्रकाशित समाचार यथास्थितिमा राख्न आदेश

अदालतको अवहेलना मुद्दामा दृष्टिन्यूज अनलाइनका प्रतिनिधिलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।

काठमाडौँ— विशेष अदालतले दृष्टिन्यूज अनलाइनविरुद्धको अदालतको अवहेलना मुद्दामा विपक्षीहरूलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ।

दृष्टिन्यूज अनलाइनमा असार ८ गते प्रकाशित एक समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटाले रिट दायर गरेका थिए। यस रिटमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेज नारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको पूर्ण इजलासले विपक्षीहरूलाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो।

अदालतको आदेशमा भनिएको छ, “यस अदालतको अवहेलनामा कारबाही र सजाय हुनु नपर्ने भए सोको आधार, कारण र प्रमाणसमेत यो आदेश र समाह्वान म्याद प्राप्त भएको मिति समयबाट बाटोको म्यादबाहेक तीन दिनभित्र र सो म्याद थाम्न थमाउनसमेत नपाउने गरी विपक्षी दृष्टि मिडिया प्रालिको हकमा कानून बमोजिमको प्रतिनिधि र विपक्षीहरू शम्भुलाल श्रेष्ठ, एमपी सुब्बा तथा सम्बन्धित समाचारको संवाददाताको हकमा आफै यस अदालतसमक्ष बयान गर्न उपस्थित हुनु।”

साथै, अदालतले अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा बिचौलियाको चहलपहल, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारलाई यथास्थितिमा राख्न पनि आदेश दिएको छ। अदालतको आदेशमा उल्लेख छ, “समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्नू र सो सामग्री नहटाउनू, परिवर्तन, परिमार्जन इत्यादि केही पनि नगर्नू भनी विपक्षीको नाममा यो आदेश जारी गरिएको छ।”