भारी वर्षाका बेला सवारी साधन चलाउन दिए सीडीओ र प्रहरी अधिकारीलाई कारबाही

कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यहाँका सीडीओसहित प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने गृहमन्त्रीले चेतावनी दिएका छन्।

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुनसक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा उनले मनसुनका बेला हुनसक्ने सडक दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए। उनले उक्त निर्णयका बारेमा आम नागरिकसम्म पुगाउन सूचना प्रवाहमा ध्यान दिन आग्रहसमेत गरे।

“कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ,” उनले भने, “कारण देखाउनुपर्ने छैन, बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैको भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ।” उहाँले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरूलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशनसमेत दिए।

पहिरोले सडक अवरुद्धका साथै सवारी साधनसमेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्या सिर्जना हुने गरेको बताए।

“विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई हो,” उनले भने, “सूचना प्रवाह धेरै महत्त्वपूर्ण छ, विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिउधनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”