यदि ममदानीले नोभेम्बरमा हुने चुनाव जिते भने उनी अमेरिकाको ठूलो शहर न्युयोर्कको पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मूलको मेयर बन्नेछन्।
काठमाडौँ– तीन वर्षअघि र्यापर बालेन (बालेन्द्र शाह) नेपालको संघीय राजधानी शहर काठमाडौँ महानगरको मेयरमा उम्मेदवार हुँदा खुब चर्चा भयो। जस्तो चर्चा भयो त्यस्तै उपलब्धि पनि हात पारे। पुराना राजनीतिक दलबीच स्वतन्त्र उभिएका उनले नभन्दै चुनाव जिते र मेयर बने।
अमेरिकाको न्युयोर्क शहरमा पनि उनकै उमेरका एक उम्मेदवारले अहिले त्यहाँको चुनावी माहोल तताएका छन्। न्युयोर्कको मेयरमा उठेका ती उम्मेदवार हुन् ३३ वर्षका जोहरान ममदानी।
न्युयोर्क शहरको मेयर पदका लागि डेमोक्र्याटिक उम्मेदवारको प्राथमिक चुनावमा एन्ड्रयु कुओमोले ममदानीको अघि हार स्वीकार गरेका छन्। यसलाई ठूलो राजनीतिक उथलपुथल मानिएको छ। यदि ममदानीले आगामी नोभेम्बरमा हुने चुनाव जिते भने उनी अमेरिकाको सबैभन्दा ठूलो शहर, न्युयोर्कको पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मूलको मेयर बन्नेछन्।
उनको अग्रसरतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खिल्ली उडाइरहेका छन्। आफ्नै पूर्वगृहनगर न्युयोर्कमा डेमोक्र्याटिकले प्राइमरी जितेपछि ट्रम्पले बुधबार ममदानीलाई 'शतप्रतिशत कम्युनिस्ट पागल' भने।
“अन्ततः यो भयो, डेमोक्र्याटहरूले सीमा पार गरेका छन्। १०० प्रतिशत कम्युनिस्ट पागल जोहरान ममदानीले भर्खरै प्राइमरी जितेका छन्, र मेयर बन्ने बाटोमा छन्,” ट्रम्पले ट्रुथ सोशलमा पोस्टमा लेखेका छन्, “हामीसँग पहिले पनि कट्टरपन्थी वामपन्थीहरू थिए, तर यो अलि हास्यास्पद हुँदै गइरहेको छ, ट्रम्पले लेखे। उनी भयानक देखिन्छन्, उनको आवाज काँपिरहेको छ, उनी धेरै स्मार्ट छैनन्।”
जोहरान ममदानीको जन्म सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। ममदानी प्रसिद्ध भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक महमूद ममदानीका छोरा हुन्। ममदानीका बुबा पनि भारतीय मूलका हुन्। दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए।
शुरुआती दिनहरू कम्पालामा बिताएका ममदानी पाँच वर्षको उमेरमा आफ्ना बुवासँगै दक्षिण अफ्रिका सरे। सात वर्षको उमेरमा न्युयोर्क आएका ममदानी २०१८ मा अमेरिकी नागरिक बनेका हुन्।
सक्रिय राजनीतिमा आउनुअघि जोहरान ममदानीले सामाजिक कार्यकर्ताको रूपमा काम गर्थे। उनी न्युयोर्कको क्वीन्समा फोरक्लोजर सल्लाहकारको रूपमा काम गर्थे। यस्तै, आर्थिक कठिनाइका कारण घर गुमाउने अवस्थामा पुगेका कम आय भएका परिवारहरूलाई सहयोग गरे। त्यस्ता परिवारहरूको समस्या केवल आर्थिक मात्र नभई नीतिसँग सम्बन्धित छ भन्ने अनुभवले उनलाई सक्रिय राजनीतिमा लाग्न प्रेरित गर्यो।
यसपछि, उनले सन् २०२० मा आफ्नो पहिलो चुनाव लडे। उनले डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा न्युयोर्क एसेम्बलीको ३६ औं जिल्ला (एस्टोरिया, क्वीन्स) बाट चुनाव लडे। जोहरान ममदानीले आफ्नो पहिलो प्रयासमा जित हासिल गरे र न्युयोर्क राज्य सभामा पहिलो दक्षिण एशियाली र पहिलो समाजवादी प्रतिनिधि बने।
तिनै ममदानीले न्युयोर्कको मेयर प्राइमरीमा पूर्वगभर्नरलाई पछाडि छोडेर सबैलाई चकित पारेका छन्।
मेयर प्राइमरीमा जितपछि ममदानीले भने, “हामीले इतिहास रचेका छौं। डेमोक्रयाटिक उम्मेदवारको रूपमा म तपाईंको न्युयोर्क शहरको मेयर हुनेछु।”
उनको आलोचना गर्नेहरू पनि त्यति नै छन्। उनले प्यालेस्टाइनको समर्थन र इजरायलको आलोचना गर्छन्। त्यसैले डेमोक्र्याटिक पार्टीका अधिकांश नेताहरूसँग उनको मतभेद रहेको छ। उनले आफू मेयर निर्वाचित भए इजरायलको भ्रमण नगर्ने सार्वजनिक रुपमै बताएका छन्। विगत ७० वर्षदेखि अहिलेसम्म निर्वाचित मेयरले इजरायलको भ्रमण गर्दै आएका छन्।
एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए, “म त्यस्तो कुनै पनि देशलाई समर्थन गर्न सक्दिन जहाँ धर्म वा अन्य कुनै आधारमा नागरिकता विभाजित हुन्छ। हरेक देशमा समानता हुनुपर्छ, यो मेरो विश्वास हो।”
ममदानीको चुनावी अभियान सस्तो आवास, खाद्यान्न, निःशुल्क बस सेवा, बालबालिकाको हेरचाहमा आधारित छ। उनले यी सबै योजनाहरूको लागि कोष जुटाउन धनीहरूमाथि नयाँ कर लागू गर्ने बताउने गरेका छन्।
न्युयोर्क शहरको मेयरको पदावधि ४ वर्षको हुन्छ। एक व्यक्ति लगातार दुई कार्यकाल अर्थात् अधिकतम ८ वर्ष मात्र मेयर रहन सक्छ।
प्रत्येक दल (जस्तै डेमोक्रेटिक, रिपब्लिकन) ले पहिले आफ्नो उम्मेदवारको निर्णय गर्छन्। यसको लागि, प्राथमिक चुनाव हुन्छ, जहाँ दलका दर्ता भएका सदस्यहरूले आफ्नो मतदान गर्छन्।
प्राइमरी जित्ने उम्मेदवारहरू त्यसपछि नोभेम्बरमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्छन्। सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार मेयर बन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
