लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने

सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ।

फाइल तस्वीर

काठमाडौंँ– सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार आगामी वर्षमा सो विभाग स्थापना गरिने छ।  

सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए। उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

“हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ,” गृहमन्त्री लेखकले भने, “ गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ।”

अहिले नेपाल प्रहरीको मातहतमा रहने गरी लागुऔषध नियन्त्रण ब्युरो रहेको छ। गृहमन्त्री लेखकले लागुऔषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटना हुने गरेको बताए। “मुख्य विषय भनेको यसको रोकथामन हो। जनचेतना महत्वपूर्ण विषय हो। लागुऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले प्रभावित गरेको छ,” लेखकले भने, “लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ।”

लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए। उनका अनुसार एक लाख ३४ हजार जना लागुऔषध सेवनकर्ता रहेको सरकारको तथ्यांक छ। मुलुकभरका कारगाराका कैदीबन्दीमध्ये दोस्रो ठूलो संख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेको संख्या छ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो।