प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले जानकारी दिए।
म्याग्दी– पाखो बारीको भित्तामा ससाना प्वाल छन्। नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ। यिनै ओतमुनि अरिंगालका गोला छन्। म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिंगालपालन गर्दै आएका छन्।
शाहीले नजिकैको जंगलबाट ल्याएर ११ गोला अरिंगाल पाल्न थालेको जानकारी दिए। राहुवडामा खुर्सानीखेतीका लागि सम्म्याएको पाखाको भित्ता र जामुनाखर्कमा घरको बार्दलीमा उनीसँगै श्रीमतीले गीताले अरिंगालपालन गरेका हुन्।
“नयाँ किसिमको व्यवसाय गर्ने योजनाअनुसार गत वर्ष जंगलबाट घरमा ल्याएर गरेको अरिंगालपालन सफल भएको छ,” गीताले भनिन्, “मौरी जसरी नै गोला स्थानान्तरण विधिबाट अरिंगाल पाल्दा यसको संरक्षणसँगै आम्दानीको स्रोत हुने रहेछ।”
पर्वतको जलजला गाउँपालिकाको लघुउद्यम विकास सहजकर्तासमेत रहेकी गीताको योजनालाई गाउँमा हस्तकला तथा फर्निचर उद्योग सञ्चालन गर्दै आएका श्रीमान् अशोकले साथ दिएका छन्।
प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने शाहीले जानकारी दिए। “जंगलमा अरिंगालको गोला देखाउनेलाई बिक्री गरेर भएको आम्दानीको आधा रकम दिने गरेका छौँ,” अशोकले भने, “अरिंगालले टोक्न नसक्ने कपडा र सुरक्षा कवच (सेफ्टी बेल्ट) प्रयोग गरी रुखमा चढेर रानीसहितको अरिंगालको गोला ल्याएर पाल्ने गरेका छौँ।”
जंगलबाट ल्याइएको अरिंगाल २५ प्रतिशत भागेर जाने र ७५ प्रतिशत मात्रै राखेको ठाउँमा बस्ने गरेका शाही दम्पतीको अनुभव छ। “बेनीका होटलमा अरिंगालको लार्भाबाट बनेका परिकार बिक्री हुन्छन्। काँचो लार्भा प्रतिकिलो तीन हजार ५०० रुपैयाँका दरले बिक्री हुने गरेको छ,” शाहीले भने।
गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका शाही दम्पतीले यस वर्ष २५ वटा गोला पालेर करिब एक क्विन्टल लार्भा बेच्ने लक्ष्य राखेको बताए। “एउटा गोलाबाट एक पटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ। प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ,” उनले भने।
पालेका अरिंगाल चरनका लागि जंगल र खेतबारीमा जान्छन्। कीराफट्याङ्ग्रा, विभिन्न प्रजातिका फूल तथा फलफूल अरिंगालका आहारा हुन्। झरी परेको समयमा मासु र फलफूल आहाराका रूपमा दिने गरेको शाहीले बताए।
शक्तिवर्द्धक मानिने अरिंगालको भुटेको लार्भा प्रतिरिकापी ६०० रुपैयाँका दरले बिक्री हुने बेनीका होटल व्यवसायी राजन लामाले बताए। अरिंगाल बर्खायाममा बेनीमा आउने पाहुनाको प्रमुख रोजाइमा पर्ने गरेको उनको अनुभव छ। जेठबाट गोला बनाउन शुरू गर्ने अरिंगालका लार्भा कात्तिकसम्म बिक्री हुन्छन्।
“अरिंगाल पाल्न सजिलो काम भने होइन। गोला जंगलबाट सार्दा सावधानी अपनाउन सकिएन भने ज्यान जोखिममा पर्छ। अरिंगाल रिसाएर टोक्ने सम्भावना बढी हुन्छ,” अशोकले भने, “बास बसेको समयमा स्थानान्तरण गर्नुपर्छ। मानिसको आवतजावत कम हुने ठाउँमा ल्याएर पालेका छौँ।” उनका अनुसार रातो र कालो जातका अरिंगाल बढी पाइन्छन्।
जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले अरिंगालपालन म्याग्दीमा नयाँ वनजन्य उद्यम भएको बताए। “लार्भाका लागि गोला पोलेर अरिंगालको वंश नै नष्ट गर्नुभन्दा पालन गर्दा यसको संरक्षण पनि हुने, आम्दानी पनि हुन्छ,” उनले भने, “जोखिम भएकाले अरिंगालपालनमा सावधानी भने अपनाउन आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
