नेप्से परिसूचक ४.४५ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको हो।

यसअघि मंगलबार ०.२२ र बुधबार ०.३३ अंक घटेर २६०० को विन्दुमा स्थिर रहेको थियो। यस दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यस दिन विभिन्न ३०६ कम्पनीको एक करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर ७४ हजार २३९ पटक खरिदबिक्री हुँदा सात अर्ब ७८ करोड दुई लाख ४२ हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बुधबार पाँच अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आजको कारोबारमा विकास बैंक १.००, जलविद्युत् ०.१०, लघुवित्त ०.१३, म्युचुअल फन्डको उपसूचक ०.०५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

यस दिनको कारोबारमा ग्रिन डेभेलपमेन्ट बैंक ९.१८, सप्तकोशी डेभेलपमेन्ट बैंक ९.०० र वरुण हाइड्रो पावरका लगानीकर्ताले ८.९३ प्रतिशतले कमाएका छन्। सबैभन्दा बढी रिलायबल समृद्धि योजनाका लगानीकर्ताले ९.३० प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावरको ६२ करोड ५२ लाख ३१ हजार १७५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सिंगटी हाइड्रो इनर्जीको १० लाख ५३ हजार ५८४ कित्ता शेयर खरिदबिक्री भएको छ।