सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच व्यक्ति-केन्द्रितसहित कुल सात उजुरी परेका छन्।

काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले यसको जानकारी गराएकी हुन्।

प्राप्त उजुरीमध्ये पाँच वटा व्यक्ति केन्द्रित रहेको र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेको सभापति न्यौपानेले बताइन्। सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएकाहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्।

सभापति न्यौपानेका अनुसार, मेघराज पोखरेलविरुद्ध दुई, श्रीकान्त पौडेलविरुद्ध दुई र शान्तिसिंह थापाविरुद्ध एक व्यक्ति केन्द्रित उजुरी परेको छ। यसबाहेक, सैद्धान्तिक विषयसँग सम्बन्धित दुई वटा उजुरी पनि परेका छन्।

समितिले शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र असार १५ गते प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्ने जनाएको छ। उजुरीकर्ताहरूलाई बिहीबारको समितिको बैठकमा आमन्त्रण गरिएको थियो।