भारतमा बन्धक बनाइएका ५७ नेपालीको कसरी भयो उद्धार?

तीन वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो। उद्धारपछि एक युवाले आमाको मृत्यु हुँदा पनि घर आउन नदिई चरम यातना दिएर राखेको बताएका छन्।

काठमाडौँ–भारतमा बन्धक बनाइएका र अलपत्र परेका ५७ नेपालीको उद्धार गरी गड्डाचौकी नाकासम्म ल्याइएको छ। ‘किन इन्डिया’ नामक सामाजिक संस्थाका निर्देशक नवीन जोशीले यस उद्धार कार्यलाई ‘अत्यन्त संवेदनशील’ रूपमा लिएको बताएका छन्।

उनले करिब एक महिनाअघि नै घटनाबारे जानकारी भए पनि ताप्लेजुङका एक जना नेपाली युवाको मृत्यु भएपछि यो विषयले थप प्राथमिकता पाएको जानकारी दिए। “यो घटना एक महिना पहिल्यै जानकारीमा आएको थियो। तर जब ताप्लेजुङको एक जना भाइ मृतक भेटिए त्यसपछि थप चासो दिएका हौँ,” उनले भने।

निर्देशक जोशीका अनुसार, ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट उठान भएको यस घटनालाई किन इन्डियाले गम्भीरतापूर्वक हेरेको थियो। उत्तराखण्ड प्रहरीको सहयोगमा अलपत्र परेका नेपालीलाई राखिएको ठाउँमा पुग्दाको अवस्था वर्णन गर्दै जोशीले भने, “त्यहाँ पुग्दा उनीहरूलाई लाइन लगाएर अन्य मानिस बोलाउन लगाइरहेको अवस्था थियो। एकदमै फोहोर कोठामा उनीहरूलाई राखिएको थियो र उनीहरूसँग सुत्न–बस्ने राम्रो व्यवस्था थिएन। तीन वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो।”

उनको भनाइमा शुरूमा बन्धक बनाइएका नेपालीहरू बोल्न पनि डराइरहेका थिए। बन्धक बनाउने मुख्य व्यक्ति वीरेन्द्र शाही पक्राउ परिसकेको खबर पाएपछि भने उनीहरू आक्रोशित भई खुलेर कुरा गर्न थालेका थिए। बन्धक बनेका एक युवाले त नेपालमा आमाको मृत्यु हुँदा पनि घर आउन नदिएको भन्दै आफूहरूले चरम यातना भोगेको बताए। यस कार्यमा शाही, मनीष तिवारीलगायत व्यक्ति सक्रिय रहेको जोशीको भनाइ छ।

निर्देशक जोशीका अनुसार, बन्धक बनाइएका नेपालीलाई रुद्रपुर र काशीपुरमा रोजगारी दिने बहानामा लगिएको थियो। पछि उनीहरूलाई विभिन्न घरहरूमा लुकाएर बन्धक बनाइएको पत्ता लागेपछि किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सहयोगमा उद्धार कार्य अघि बढाइएको हो।

बन्धक बनाउने समूहले उनीहरूलाई घर फेरेर राखेको र भगाउँदै गरेको अवस्थामा समेत उद्धार टोलीले फेला पारेको जोशीले बताए।

उद्धार गरिएका सबै नेपालीलाई बसमार्फत सीमा नाका गड्डाचौकीसम्म ल्याइएको थियो। बुधबार सीमा नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) डम्बरबहादुर विश्वकर्माले उनीहरूलाई स्वागत गरेका थिए।

उद्धार गरिएका सबै युवालाई कञ्चनपुरमा नै वासस्थानको प्रबन्ध मिलाई बिहीबारदेखि आ–आफ्नो गन्तव्यतर्फ पठाउन शुरू गरिएको छ। उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका ११ जनासहित चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, दाङ, बाँके, स्याङ्जा, धादिङ, कास्की, सर्लाही, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका रहेका छन्।

निर्देशक जोशीको अगुवाइमा स्थापित किन इन्डिया संस्थाले यसअघि पनि भारतबाट धेरै नेपालीको उद्धार गरिसकेको छ। नेपाल न्युज बैंकको सहयोगमा।