दृष्टिन्युजका अध्यक्ष र सम्पादकसँग अदालतले माग्यो २५-२५ हजार धरौटी

अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टिन्युजका अध्यक्ष शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

काठमाडौँ– अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टिन्युज अनलाइनका सञ्चालक र सम्पादकसँग धरौटी माग गरेको छ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीबार दृष्टिन्यूजका सञ्चालक एवं अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो।

नवराज सापकोटा समेतले ‘दृष्टिन्यूज अनलाइन’विरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दिएका थिए। निवेदनमा, दृष्टिन्यूज अनलाइनमा असार ८ गते प्रकाशित एक समाचारले अदालतको अवहेलना गरेको तथा विचाराधीन रहेका मुद्दालाई प्रभावित पार्ने उद्देश्यले समाचार प्रकाशित गरेको आरोप लगाइएको थियो।

“यी विपक्षीहरूउपरको उजुरी निवेदन/प्रतिवेदनको सम्बन्धमा पछि थप परीक्षण हुँदै जाँदा ठहरेबमोजिम हुने नै भएकाले प्रस्तुत मुद्दाको पुर्पक्ष र थप कारबाहीका लागि विशेष अदालत नियमावली २०८० को नियम २० को उपनियम (५) बमोजिम विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा भन्ने मानबहादुर लिम्बूबाट जनही नगद धरौटी रु २५ हजार वा सो बराबरको बैंक जमान दिए लिई तारिखमा राख्नू,” आदेशमा भनिएको छ। 

अदालतले श्रेष्ठले बयानमा उल्लेख गरेका साक्षीलाई बकपत्रका लागि असार १५ गते उपस्थित गराउन पनि आदेश दिएको छ। साथै, मुद्दाको अन्तिम सुनुवाइका लागि सहयोग गर्न तीन जना कानून व्यवसायीलाई एमिकस क्युरी (अदालतको सहयोगी) का रूपमा पठाइदिन विशेष अदालत बार एसोसिएसनलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यसअघि अदालतले विपक्षीहरूलाई बयानका लागि बोलाउँदै अदालतले अनलाइनमा प्रकाशित ‘विशेष अदालतमा बिचौलियाको चहलपहल, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकको समाचारलाई यथास्थितिमा राख्न आदेश दिएको थियो।