डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।
कञ्चनपुर– गर्मी र वर्षात्को समयमा मात्र देखिने डेंगी सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमितताले डेंगीको संक्रमण बढ्दै गएको हो।
लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए। “तापक्रम र वर्षाको चक्रले डेंगीको जोखिमलाई बढाएको छ,” उनले भने, “पहिला गर्मी र वर्षाका बेलामात्र डेंगीको संक्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ।”
लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेंगीको संक्रमण चुनौतीका रूपमा देखापरेको उनको भनाइ छ। सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ। जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेंगी संक्रमण देखापरेको छ। सोही अवधिमा सबैभन्दा बढी डडेलधुरामा ३४ जनामा र त्यसपछि कैलालीमा ३१ जनामा डेंगीको संक्रमण देखिएको छ।
कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेंगी संक्रमण देखापरेको छ। बैतडीमा भने जनवरीयता डेंगीका बिरामी देखापरेका छैनन्। एडिस एजिप्टाई जातको संक्रमित लामखुट्टेको टोकाइबाट डेंगी सर्छ। पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेंगी सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको जोशीले उल्लेख गरे। डेंगीलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्नेमा उनको जोड छ।
“जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेंगीसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्छ,” उनले भने, “वर्षात्को समयमा डेंगीको संक्रमण तीव्र रूपमा बढ्नसक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ।”
डेंगी सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्यांकी, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ।
“गर्मी र वर्षात्को समयमा डेंगी संक्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ,” शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेंगीको रोकथाम गर्न सकिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
