नुवाकोटको ककनीमा बाढीले बगाएर १ जना बेपत्ता

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढीले बगाएर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।

फाइल तस्वीर।

त्रिशूली– अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन्। 

कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। 

लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा विमलालाई बगाएको हो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बाढीका कारण विमलाका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। 

बाढीले थप तीन वटा गोठमा पनि क्षति पुर्‍याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए। बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको उनले बताए।