न्युयोर्कमा आगामी नोभेम्बरमा मेयरको चुनाव हुँदा डेमोक्य्राटिक पार्टीबाट इजरायली प्रधानमन्त्री नेतन्याहुका कट्टर विरोधी तथा मुस्लिम समुदायका ममदानी उम्मेदवार हुने छन्।
काठमाडौँ– जोहरान ममदानीको ‘सोसल मिडिया अकाउन्ट’ एकछिन ‘स्क्रोल’ गर्ने हो भने, उनी अन्य अमेरिकी राजनीतिज्ञभन्दा कति भिन्न छन् भनेर छुट्याउन गाह्रो पर्दैन।
ममदानी संसारको महँगोमध्येको शहर न्युयोर्कलाई सबैको पहुँचयोग्य बनाउने बाचा गर्छन्। अत्यधिक महँगो भएकाले न्युयोर्कको जीवनशैली कष्टकर भएको उनको मूल्यांकन छ।
केही समयअघि ममदानीले इन्स्टाग्रामको एक पोस्टमा भनेका थिए, “हरेक राजनीतिज्ञले न्युयोर्क संसारको सबैभन्दा ठूलो शहर हो भन्छन्। तर यहाँ बस्न सबैको गच्छेले भ्याउँदैन भने ठूलो शहर हुनुको के फाइदा?”
प्रत्येक ‘बरो’मा नगरपालिकाको स्वामित्वमा रहेको एउटा किराना पसल खोल्ने ममदानीको योजना छ। न्युयोर्कमा पाँचवटा बरो छन्– म्यानहट्टन, ब्रोक्लिन, क्विन्स, द ब्रंश र स्टाटन आइल्यान्ड।
हरेक १० मध्ये नौ जना न्युयोर्कले किराना सामानको मूल्य उनीहरूको आम्दानीभन्दा छिटो बढिरहेको बताइरहँदा उनी नाफा नकमाउने र सेवाभावमा समर्पित किराना पसल खोल्ने अभियानमा छन्। यसबाट सीमान्तकृत समुदायले किफायती र स्वस्थ खाना पाउने उनको अपेक्षा छ।
उनै ममदानी अब डेमोक्य्राटिक पार्टीबाट न्युयोर्कको मेयरको उम्मेदवार बन्नेछन्। न्युयोर्कमा मेयरको चुनाव आगामी नोभेम्बरमा हुँदैछ।
ममदानीको अर्को प्रस्ताव सन् २०२७ सम्ममा सबै शहरी बस निःशुल्क गर्ने हो। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने जलवायु परिवर्तन र एलजीबीटीक्युआईएको मुद्दालाई पनि ममदानीले प्राथमिकतामा राखेका छन्। उनको चुनाबी अभियानको वेबसाइटमा भनिएको छ, “अमेरिकाभरि समलैंगिक र ट्रान्सजेन्डरले बढ्दो शत्रुतापूर्ण राजनीतिक वातावरणको सामना गरिरहेका छन्। न्युयोर्क शहर उनीहरूका निम्ति उपयुक्त आश्रयस्थल बन्नुपर्छ।”
हजारौँ प्यालेस्टिनीको ‘हत्या गरेका’ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क आए पक्राउ गर्नुपर्ने उनको धारणा छ। राष्ट्रपति ट्रम्प नै नेतन्याहुको रक्षक बनेका बेला न्युयोर्कका सम्भावित मेयर उनको खरो आलोचक बनेर निस्किएका छन्।
पत्रकार मेहेन्दी हसनले गत वर्ष डिसेम्बरमा लिएको एक अन्तरवार्तामा उनले नेतन्याहुमाथि दिएको अभिव्यक्ति अहिले सोसल मिडियामा भाइरल छ। हसनले ममदानीलाई ‘इजरायली प्रधानमन्त्रीलाई न्युयोर्कमा स्वागत गर्नुहुन्छ?’ भनेर सोधेका थिए।
जवाफमा ममदानीले भनेका थिए, “होइन। मेयरको रूपमा, न्युयोर्क शहरले बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्नेछ। यो एउटा यस्तो शहर हो, जहाँ हाम्रा मूल्यमान्यताहरू अन्तर्राष्ट्रिय कानूनअनुरूप छन्। हाम्रा कार्यहरू पनि त्यस्तै हुने समय आएको छ।”
आफू मेयर भएमा न्युयोर्कमा पुस्तकालय जोगाउने उनको योजना छ। मेयर एरिक एडम्सले पुस्तकालयहरू बन्द गरेको र त्यसले धेरै मानिसलाई चोट पुर्याएको उनको भनाइ छ।
विगतमा राज्यसभामा हुँदा पनि विभिन्न पुस्तकालयको रक्षामा उनको महत्त्वपूर्ण भूमिका थियो। उनले घोषणा गरेका छन्, “यदि म मेयर भएँ भने, पुस्तकालयलाई पैसा दिन कन्जुस्याइँ गर्ने छैन। म शहरको बजेटको ०.५ प्रतिशत पुस्तकालयलाई दिनेछु, ताकि तिनीहरू सधैँभरि खुला रहन सकून्, पर्याप्त कामदार राख्न सकून् र वर्षभरि राम्रो सेवा प्रदान गर्न सकून्।”
उनी ‘स्टेट एसेम्बली’मा हुँदा पनि पुस्तकालय जोगाउन भूमिका खेलेका थिए। उनले स्थानीयहरूलाई अस्टोरियामा ब्रोडवे पुस्तकालय पुनः खोल्न मद्दत गरेका थिए। त्यस्तै, क्विन्स सार्वजनिक पुस्तकालयलाई कार्यक्रमहरूका लागि पैसा उपलब्ध गराएका थिए।
यी ३३ वर्षीय युवकले जुन २४ मा भएको डेमोक्य्राटिक पार्टीको प्राइमरी चुनावमा सबैभन्दा बढी मत पाएपछि मेयरको उम्मेदवार बन्ने निश्चित भएको छ। प्राइमरीमा ममदानीले ४३.५ प्रतिशत मत पाएका थिए। उनका प्रतिद्वन्द्वी एन्ड्रयु कोमोले ३६.४ प्रतिशत मत पाए।
कोमो पूर्वगभर्नर समेत हुन्। उनीसँग बलियो राजनीतिक विरासत छ। कोमोका पिता तीन पटक न्युयोर्ककै गभर्नर भएका थिए।
प्रगतिशील मानिने अर्का उम्मेदवार ब्राड ल्यान्डरले ११.३ प्रतिशत मत ल्याएर तेस्रो भएका थिए। अब ममदानी न्युयोर्कको मेयरमा पहिलो मुस्लिम उम्मेदवार हुनेछन्। मुस्लिम उम्मेदवारसम्म नभएको न्युयोर्कमा उनी मेयर निर्वाचित भए नयाँ इतिहास बनाउने छन्।
मेयरको चुनावको परिणामबारे अहिले विभिन्न अड्कलबाजी भइरहेका छन्। कतिपयले ममदानीको विजय सुनिश्चित देखेका छन्। तर यसपटकको प्राइमरी चुनावमा भने उनको जित ग्रासरूट अभियानसँग जोडिनेछ। उनले राजनीतिमा आफ्नो माहोल बनाउन ठूलो कसरत गरेका छन्।
ममदानीलाई स्वयंसेवकहरूको ठूलो सहयोग छ। मानिसहरूले उनलाई दिल खोलेर चन्दा दिए। युवा मतदाताहरू उनको पक्षमा खुलेर लागे। उनले विशेषगरी क्विन्स, ब्रुकलिन र म्यानहट्टनका केही भागहरूमा काम गर्ने मजदुर वर्गलाई आफूतिर ताने।
ममदानीले भर्खरको एक अन्तरवार्तामा भनेका छन्, “यो अभियान बास्तवमा अन्यायविरुद्धको हो। यसको अनुभव गर्न तपाईंले सबैभन्दा महँगो शहरमा बस्नु पर्दैन, किनभने यो सम्पूर्ण देशको समस्या हो। सबैतिरका मानिसहरू त्यस्ता नेता चाहन्छन् जसले उनीहरूको लागि लडून् र बास्तविक परिवर्तन ल्याऊन्।”
ममदानीको अभियानबारे गार्जियनले भनेको छ, “बर्नी स्यान्डर्स र अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज जस्ता समाजवादीको समर्थन पाएका ममदानीले आफ्नो अभियानमा मतदाताहरूसँग कुरा गर्न धेरै ढोका ढकढक्याए र सोसल मिडियाको राम्रो प्रयोग गरे।”
ममदानीले आफ्नो अभियानमा सोसल मिडियालाई सिर्जनशील र प्रभावकारी तरिकाले प्रयोग गरे। उनकी आमा मिरा नायर पनि फिल्म निर्माता हुन्, त्यसको प्रभाव उनमा नपर्ने कुरै भएन।
उनले अंग्रेजी, हिन्दी, उर्दुलगायत भाषामा आफ्नो विचार राखेर सानासाना भिडियोहरू पोष्ट गरिरहे। भ्यालेन्टाइन डेको पोस्टमा उनले ‘क्यान यु फिल द लभ टु नाइट’ को प्यारोडी गाए र शहरका सडकहरूमा रातो मुटु आकारका बेलुनहरू बोकेर हिँडे। न्युयोर्कको मेयरका लागि उम्मेदवारी दिनुको कारण पनि उनले म्याराथनमा दौडँदै बताएका थिए, जसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो। भाडा वृद्धिको विरोध गर्न उनले सुट र टाई लगाएर जमेको समुन्द्रमा हाम फालेका थिए।
ममदानी सोसल मिडियामा यति लोकप्रिय भइसकेका छन् कि, उनको पोस्टलाई समर्थन गरेर कमेन्ट गर्दा पनि सयौँ लाइक आउँछन्। एकजना एक्स प्रयोगकर्ताले गत जुनमा उनीबारे मजाक गर्दै लेखेका थिए, “केवल ‘जोहरान ममदानी’ ट्विट गर्नुहोस्, तपाईंले तुरुन्तै १,००० लाइक पाउनुहुनेछ।” बम्पी नक्कल्स ह्यान्डलबाट भएको यो पोस्टमा समेत डेढ करोडभन्दा बढी भ्युज छ।
ममदानीले उठाएका मुद्दालाई चर्को आलोचना गर्नेहरू पनि छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त उनलाई ‘पागल’ नै भनिदिए। ट्रम्पले गत बुधबार एक्समा लेखे, “१०० प्रतिशत कम्युनिस्ट पागल जोहरान ममदानीले भर्खरै डेमोक्य्राटिक प्राइमरी जितेका छन् र मेयर बन्ने बाटोमा छन्।”
डेमोक्य्राटले सीमा नाघेको ट्रम्पको आरोप छ। उनको भनाइ छ, “अन्ततः यो भयो, डेमोक्य्राटहरूले सीमा नाघेका छन्। ...हामीसँग पहिले पनि कट्टरपन्थी वामपन्थीहरू थिए, तर यो अलि हास्यास्पद हुँदै गइरहेको छ।”
ममदानीलाई कम्युनिस्ट भएको आरोप लगाउने ट्रम्प एक्ला भने होइनन्। सोसल मिडियामा समेत उनलाई कम्युनिस्टको ‘लेबल’ लगाइन्छ। पोडकास्ट होस्ट निक सोर्टरले एक्समै उनी कम्युनिस्ट भएको घोषणा गरेका छन्।
त्यस्तै, रूढिवादी वेबसाइट ‘द डेली वायर’का सह–संस्थापक बेन शापिरोको धारणा पनि यही छ। तर यो झुट भएको अलजजिरा बताउँछ। किनभने, ममदानीले आफूलाई प्रजातान्त्रिक समाजवादीको रूपमा चिनाइरहेका छन्।
राष्ट्रपति ट्रम्पले नै उनलाई कम्युनिस्ट भएको बताएपछि अल जजिराले ‘फ्याक्ट–चेक’ गरेको थियो। उक्त रिपोर्टमा अल जजिराले लेखेको छ, “ममदानीले यातायात, आवास र किराना सामानहरूलाई अझ किफायती बनाउन आह्वान गर्छन्। विज्ञहरू भन्छन् कि, उनले कम्युनिजमका प्रमुख सिद्धान्तहरू जस्तै– उद्योग र निजी सम्पत्तिलाई सरकारीकरण गर्ने भनेको छैनन्। ...उनले साम्यवादको अर्को सिद्धान्त लोकतन्त्र र राजनीतिक दलहरूलाई हटाउन पनि आह्वान गरेका छैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आमोद प्याकुरेल
