वीरगन्जमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

पर्साको वीरगन्जमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

रौतहट– पर्साको वीरगन्ज महानगरपालिका–२८, बगहीमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको घटनास्थलमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट बताए।

उनका अनुसार तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ फिट तल खसेको थियो। नम्बर प्लेट नभएको उक्त ट्याक्टर भेडाहा खोलाबाट माटो बोकेर बगहीँतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले बताएको छ।

दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।