विपद् न्यूनीकरणका लागि काठमाडौँका नदीबाट निकालियो २ हजार ट्रिप माटो

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।

काठमाडौँ— काठमाडौँ महानगरपालिका (कामपा)ले मनसुनका कारण हुने नदीजन्य विपद्लाई कम गर्नका लागि नदी सफाइ गरी करिब दुई हजार ट्रिप माटो निकालेको छ। विगतका वर्षहरूमा जस्तै उपत्यकामा ठूलो क्षति नहोस् भन्नका लागि पूर्वतयारी स्वरूप यो काम गरिएको कामपाले जनाएको छ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट माटो निकालिएको हो। निकालिएको दुई हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ। नदीमा माटो थुप्रिँदा सतह भरिने र बाढी आउँदा बाटो तथा बस्तीमा पसेर जनधनको क्षति हुने भएकाले बेलैमा यो काम गरिएको राईले बताइन्।

"विगतका वर्षमा भन्दा यस वर्ष छिट्टै मनसुन भित्रिएको छ र नियमित पानी परिरहेको छ। यसले गर्दा नदीजन्य विपद् आउने सम्भावना अलि बढी नै छ। त्यसकै पूर्वतयारी स्वरूप कामपाले सफाइको काम गरेको हो," प्रमुख राईले भनिन्।

नदी सफाइको कामसँगै कामपाले मनसुनजन्य विपद् न्यूनीकरणका लागि 'विपद् कृत्रिम अभ्यास' पनि गरेको छ। यस अभ्यासको मुख्य उद्देश्य बाढीपहिरो तथा डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउनु रहेको छ।

कामपाका नगर प्रहरी प्रमुख उपरीक्षक विष्णुप्रसाद जोशीले गत वर्ष मनसुनजन्य विपद्का कारण काठमाडौँमा नसोचेको जनधनको क्षति भएको स्मरण गर्दै यस वर्ष त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराइएको जानकारी दिए।

"उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमतालाई अभ्यासबाट निपुण बनाउने, साधनस्रोत तथा उपकरणको प्रबन्ध गर्ने, प्रयोग विधि सिकाउनेलगायतका क्रियाकलाप अभ्यास गरिएको हो," जोशीले भने।

यस तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, र विपद्मा हुने मृत शरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान तथा व्यावहारिक अभ्यास गराइएको कामपाले जनाएको छ।